काठमाडौं:= नेपाली चलचित्र क्षेत्रका चर्चित नायक, फिल्म निर्माता तथा निर्देशक विराज भट्टले नेपालमा बाढीपहिरोबाट प्रभावित पीडितहरूको उद्धार तथा राहतका लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
भट्टले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएका हुन्। विपद्को समयमा पीडित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा योगदान पुगोस् भन्ने उद्देश्यले उनले उक्त रकम प्रदान गरेका हुन्।
यसैबीच, भट्टले बाढीपहिरोमा परी घाइते भएका तथा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति हार्दिक संवेदना व्यक्त गरेका छन्। उनले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय भट्ट अभिनयसँगै फिल्म निर्माण तथा निर्देशनका क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्वका रूपमा चिनिन्छन्। चलचित्र क्षेत्रमार्फत नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका उनले सामाजिक तथा मानवीय सेवाका कार्यमा समेत निरन्तर चासो देखाउँदै आएका छन्।
नेपालमा प्राकृतिक विपत्ति तथा आपत्कालीन अवस्था सिर्जना हुँदा विगतदेखि नै आफ्नो क्षमताअनुसार आर्थिक तथा भौतिक सहयोग गर्दै आएका भट्टले यसपटक पनि बाढीपहिरो पीडितका लागि सहयोग गरेका हुन्।
विपद्को समयमा राज्यको राहत तथा उद्धार प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको जनाइएको छ। उनको यो सहयोगले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा केही भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।
कलाकार तथा चलचित्रकर्मीहरू मनोरञ्जन क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवाका क्षेत्रमा समेत सक्रिय हुनुपर्ने सन्देश दिँदै भट्टले विपद्को समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।




















