नेपाल–चीन सीमाक्षेत्रको बाढीप्रति मलेसियाका प्रधानमन्त्री अनवरद्वारा गहिरो दुःख व्यक्त।

क्वालालम्पुर (मलेसिया):= नेपाल–चीन सीमाक्षेत्र रसुवामा बुधबार आएको विनाशकारी आकस्मिक बाढीप्रति मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले गहिरो दुःख व्यक्त गर्दै नेपाल र चीनका सरकार तथा जनताप्रति समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्री अनवरले बाढीमा आफ्ना प्रियजन गुमाएका तथा आफन्तको अवस्थाबारे अझै जानकारी पर्खिरहेका परिवारप्रति समेत गहिरो सहानुभूति व्यक्त गरेका छन्।

उनले मलेसियाली नागरिक प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै काठमाडौंस्थित मलेसियाली दूतावासले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी आवश्यक सहयोग गरिरहेको बताएका छन्। त्यसैगरी, उद्धार तथा सहयोगका प्रयासलाई थप प्रभावकारी बनाउन ढाकास्थित मलेसियाली उच्चआयोगका अधिकारीहरूलाई समेत स्थलमै परिचालन गरिने जानकारी दिएका छन्।

प्रधानमन्त्री अनवरले प्रभावित मलेसियाली नागरिकको खोजी, पहिचान तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन मलेसियाली नियोगलाई आवश्यक सबै स्रोत–साधन उपलब्ध गराउन निर्देशन दिएको बताएका छन्।

यसैबीच, नेपाल–चीन सीमाक्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण सयौँ मानिसको मृत्यु हुनुका साथै ठूलो संख्यामा मानिस अझै बेपत्ता छन्। उद्धार तथा खोजी कार्य कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच जारी रहेको छ।

प्रधानमन्त्री अनवरले अत्यन्त कठिन परिस्थितिमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्बन्धित सबैको साहस र समर्पणको प्रशंसा गर्दै विपद्बाट प्रभावित सबैप्रति आफ्नो साथ, समर्थन र प्रार्थना रहेको बताएका छन्।