मलेसियाबाट नेपालमा बाढीपीडितलाई एति वाल्क ट्राभल्सको २२ हजार २२२ रुपैयाँ सहयोग।

जोहोर (मलेसिया):= नेपालमा बुधबार आएको भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मलेसियाको जोहोरमा नेपाली व्यवसायीद्वारा सञ्चालित एति वाल्क ट्राभल्स एन्ड टुर्स एसडीएन. बीएचडी. ले आर्थिक सहयोग प्रदान गरेको छ।

ट्राभल्सले बाढीपीडितका उद्दारका लागि नेपाली रुपैयाँ २२ हजार २२२ सहयोग गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ।

एति वाल्क ट्राभल्स एन्ड टुर्सका सञ्चालक कृष्ण केसीका अनुसार विपद्को समयमा पीडित नागरिकको उद्धार तथा राहत कार्यमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो।

केसीले भने, “विपद्को यो कठिन समयमा पीडितहरूको उद्धार तथा राहतका लागि हाम्रो तर्फबाट पनि सानो सहयोग होस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हौँ। यसले प्रभावित नागरिकको उद्धार र राहतमा केही सहजता पुग्ने विश्वास छ।”

एतिवाल ट्राभल्स एन्ड टुर्स एसडीएन. बीएचडी. मलेसियामा सञ्चालनमा आएको एक दशक पूरा भइसकेको छ। ट्राभल्सले व्यावसायिक सेवासँगै मलेसियामा रहेका नेपाली समुदायका समस्यामा समेत समय–समयमा सहयोग गर्दै आएको छ।

नेपाली समुदायमा समस्या वा आपत्–विपद् आइपर्दा सहयोग गर्ने तथा आवश्यक अवस्थामा पीडित र समस्यामा परेका नेपालीहरूको उद्धारमा समेत ट्राभल्सले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्दै निशुल्क टिकट सहयोग गर्दै आएको सञ्चालक केसीले बताए।

मलेसियामा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायी तथा संघसंस्थाले नेपालमा आइपर्ने प्राकृतिक विपद्का बेला सहयोग गर्दै आउनुले प्रवासमा रहेका नेपालीहरूबीचको सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको सद्भावलाई समेत प्रतिबिम्बित गरेको छ।