बाढीपीडितको उद्धारका लागि बिनोद थापाले गरे रु.१ लाख सहयोग, सहयोग अभियानमा जुट्न आह्वान।

[ घनश्याम चौधरी “आरएन” ] 

क्वालालम्पुर (मलेसिया):= भोजपुर स्थायी घर भई  मलेसियामा विगत २ दशकदेखि व्यापार–व्यवसाय गर्दै आएका समाजसेवी युवा तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष बिनोद थापाले नेपालमा हिजो बुधबार चीन तिब्बततिर बाट आएको भीषण बाढीबाट प्रभावित पीडित जनताहरूको उद्धार तथा सहयोगका लागि नेपाली रुपैयाँ १ लाख सहयोग  गरेका छन्।

थापाले उक्त सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ट्रान्सफर गरी जम्मा गरिदिएका हुन। विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले उक्त रकम सहयोग प्रदान गरेका हुन्।

थापा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष हुनुका साथै हाल जनसम्पर्क समिति मलेसियाका संरक्षक समेत हुन्। विगतका दिनदेखि नै सामाजिक सेवामा एकदमै सक्रिय रहँदै आएका थापाले विपद्को समयमा पीडितलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताएका छन्।

बाढीका कारण प्रभावित परिवारहरूको उद्धार तथा राहतका लागि आफूले सक्दो सहयोग गरेको बताउँदै थापाले मलेसियालगायत विभिन्न देशमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई सहयोग अभियानमा एकजुट भएर जुट्न सार्वजनिक आह्वान समेत गरेका छन्।

उनले आ–आफ्नो क्षमताअनुसार सकेको सहयोग गर्दै बाढीपीडितको उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्। विपद्को समयमा देश तथा विदेशमा रहेका नेपालीहरू एकजुट भएर पीडित परिवारको साथमा उभिनुपर्नेमा उनले जोड दिएका छन्।

त्यसैगरी मलेसियाबाटै अन्य कैयौं मनकारी व्यक्तिहरूले समेत प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गरी सहयोग गरिरहेका छन्। विगतदेखि नै नेपालमा कुनै पनि किसिमका आपत्‌विपत् आउँदा मलेसियामा बस्ने नेपालीहरूले सक्रियताका साथ आफूले सकेको सहयोग अभियानमार्फत सक्दो आर्थिक, भौतिक सहयोग गर्ने गरेका छन्।