एनआरएनए एसिया–प्यासिफिक सम्मेलन सफल बनाउन एनसीसी मलेसियाको योगदानको उच्च प्रशंसा।

ग्वाङ्झाउ (चीन):= आगामी अगस्ट १५–१६, २०२६ मा चीनको Crowne Plaza Guangzhou City Centre मा आयोजना हुन गइरहेको एनआरएनए एसिया–प्यासिफिक ११औँ क्षेत्रीय सम्मेलन सफल बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याएको भन्दै एनआरएनए एनसीसी मलेसिया प्रति आयोजकले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।

“Rising Together, Leading Forward” भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना हुन लागेको यस ऐतिहासिक सम्मेलनको तयारीमा एनआरएनए एनसीसी मलेसियाले देखाएको सक्रियता, सहकार्य, समन्वय तथा अमूल्य योगदानको आयोजकले खुलेर प्रशंसा गरेको हो।

उक्त धन्यवाद तथा सम्मान सन्देश एनआरएनए एसिया–प्यासिफिक ११औँ सम्मेलन मूल आयोजक समिति–२०२६ को तर्फबाट जारी गरिएको हो। उक्त सम्मेलनमा मलेसियाको तर्फबाट दुईजना सञ्चारकर्मीसहित करिबकरिब दुई दर्जन एनआरएनए प्रतिनिधि हरु सहभागी हुने अनुमान गरिएको छ ।

आयोजकले जारी गरेको धन्यवाद सन्देशमा सम्मेलनलाई सभ्य, भव्य र सफल बनाउन एनआरएनए एनसीसी मलेसियाले निर्वाह गरेको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।

त्यसैगरी, एनआरएनए एनसीसी मलेसियाको निरन्तर साथ, मार्गदर्शन र सद्भावका कारण आगामी कार्यक्रमहरू अझ प्रभावकारी र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरिएको छ। साथै, संस्थाको उत्तरोत्तर प्रगति, सफल कार्यकाल तथा आगामी यात्राका लागि हार्दिक शुभकामना समेत व्यक्त गरिएको छ।