KLIA टर्मिनल–१ मा नयाँ पिक–अप नियम लागू, ई–हेलिङ सवारीलाई अब RM ३ प्रवेश शुल्क।

क्वालालम्पुर (मलेसिया):= मलेसिया एयरपोर्ट्स होल्डिङ्स बरहाद (MAHB) ले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) को टर्मिनल–१ मा सवारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नयाँ पिक–अप नियम लागू गरेको छ। अगस्ट ४ देखि लागू भएको यस व्यवस्थाअनुसार, पिक–अप क्षेत्रमा प्रवेश गर्ने सबै ई–हेलिङ (Grab लगायत) सवारी साधनहरूले अनिवार्य रूपमा RM ३ प्रवेश शुल्क तिर्नुपर्नेछ।

MAHB का अनुसार यो निर्णय टर्मिनल क्षेत्रमा बढ्दो सवारी चाप नियन्त्रण गर्न, ट्राफिक जाम कम गर्न तथा अवैध ट्याक्सी चालकहरूको गतिविधिलाई रोक्न लक्षित गरिएको हो। नयाँ प्रणालीले यात्रुहरूलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा सवारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नयाँ नियमअनुसार ई–हेलिङ चालकहरूले पिक–अप क्षेत्रमा अधिकतम १० मिनेट मात्र रोक्न पाउनेछन्। तोकिएको समयभन्दा बढी सवारी रोक्ने वा अन्य नियम उल्लंघन गर्ने चालकहरूमाथि कारबाही गरिनेछ। गम्भीर वा पटक–पटक नियम उल्लंघन गर्ने सवारी साधनलाई कालोसूची (Blacklist) मा समेत राख्न सकिने चेतावनी MAHB ले दिएको छ।

विमानस्थल प्रशासनले यात्रुहरूलाई आधिकारिक ई–हेलिङ सेवा वा अनुमति प्राप्त ट्याक्सी मात्र प्रयोग गर्न आग्रह गर्दै यस कदमले अनधिकृत चालकहरूको ठगी नियन्त्रण गर्नुका साथै विमानस्थलको यातायात व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ।