क्वालालम्पुर := गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन आगामी १५ र १६ अगस्ट २०२६ मा चीनको ग्वाङ्झाउ सिटी सेन्टरस्थित होटल क्राउन प्लाजा मा आयोजना हुने भएको छ।
“आरोहण (Aarohan): Rise Together, Leading Forward” भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशसहित विश्वभरबाट ६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।
सम्मेलनमा गैरआवासीय नेपालीहरूको सीप, पूँजी, लगानी, नवप्रवर्तन, व्यवसायिक साझेदारी, ज्ञान हस्तान्तरण तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ।



यस सम्मेलनले नेपालमा उत्पादनमूलक लगानी आकर्षित गर्ने, अन्तर्राष्ट्रिय व्यवसायिक सञ्जाल विस्तार गर्ने तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य लिएको छ। साथै, नीति निर्माता, उद्यमी, लगानीकर्ता, व्यवसायी तथा प्रवासी नेपाली नेतृत्वबीच अनुभव आदानप्रदान र सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा सहभागी हुन विभिन्न देशका एनआरएनए प्रतिनिधिहरूलाई औपचारिक निमन्त्रणा पठाउने क्रम जारी रहेको छ। सम्मेलनमा सहभागी प्रतिनिधिहरूले आफ्नै यात्रा, बसोबास तथा अन्य खर्च आफैंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार, यो सम्मेलनले एसिया–प्रशान्त क्षेत्रमा रहेका नेपालीहरूको एकता, लगानी प्रवर्द्धन र नेपालको समृद्धिमा प्रवासी नेपालीहरूको योगदानलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।




















