मलेसियामा विदेशी (रोहिङ्ग्या)ले चलाएका तीनपाङ्ग्रे मोटरसाइकल तत्काल जफत गर्न जेपिजे को निर्देशन।

क्वालालम्पुर, मलेसिया — मलेसियाको सडक यातायात विभाग (JPJ) ले वैध ड्राइभिङ कागजातबिना विदेशी नागरिक र (रोहिङ्ग्या) ले तीनपाङ्ग्रे मोटरसाइकल चलाएको अवस्थामा तीन पाङ्ग्रे मोटरसाइकल तत्काल जफत (सिता) गर्न निर्देशन दिएको छ।

JPJ का महानिर्देशक दातुक एडी फाद्ली राम्लीका अनुसार, विदेशी नागरिकले यस्ता सवारीसाधन प्रयोग गर्ने सम्बन्धमा विभागले अपनाइरहेको तरिका तथा त्यसमा संलग्न सवारीधनीबारे आवश्यक जानकारी पहिचान गरिसकेको छ।

सवारीधनीमाथि पनि कारबाही

JPJ का अनुसार, वैध ड्राइभिङ कागजातबिना विदेशी नागरिकले सवारी चलाएको अवस्थामा चालक मात्रै नभई आफ्नो सवारीसाधन विदेशीलाई प्रयोग गर्न दिने धनीमाथि समेत कानुनी कारबाही हुन सक्छ।

एडी फाद्लीले JPJ का वरिष्ठ प्रवर्तन निर्देशक दातुक मुहम्मद किफ्ली मा हसनलाई वैध कागजातबिना सवारी चलाउने विदेशी चालकविरुद्धको कारबाही अझ प्रभावकारी बनाउन निर्देशन दिइएको बताए।

JPJ ले आफ्नो वार्षिक प्रवर्तन योजना तथा निर्धारित SOPअनुसार विभिन्न क्षेत्रमा लक्षित र केन्द्रित रूपमा अभियान सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत विदेशी चालकलाई लक्षित गर्दै Op PEWA (Operasi Pemandu Warga Asing) समेत सञ्चालन हुँदै आएको छ।

तीनपाङ्ग्रे मोटरसाइकलका लागि छुट्टै अभियान छैन

विदेशी नागरिकले तीनपाङ्ग्रे मोटरसाइकल प्रयोग गर्ने विषयमा भने JPJ ले छुट्टै विशेष अभियान सञ्चालन नगरेको जनाएको छ। मलेसियामा यस्ता सवारीसाधनको संख्या तुलनात्मक रूपमा कम भएकाले छुट्टै अभियान आवश्यक नरहेको JPJ को भनाइ छ।

तर, नियमित वा लक्षित प्रवर्तन अभियानका क्रममा वैध कागजातबिना विदेशीले चलाएको तीनपाङ्ग्रे मोटरसाइकल भेटिएमा तत्काल जफत गरिने एडी फाद्लीले स्पष्ट पारे।

JPJ ले चालकको राष्ट्रियता नहेरी सडक यातायातसम्बन्धी कानुन उल्लङ्घन गर्ने जोकोहीमाथि समान रूपमा कारबाही जारी राख्ने जनाएको छ।

स्रोत: Berita Harian