क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले मलेसिया देशभर कार्यरत नेपाली श्रमिकलाई रोजगार दिएका रोजगारदाता कम्पनीहरूलाई आधिकारिक इमेलमार्फत नेपाली श्रमिकको मौलिक (Original) पासपोर्ट र भिसा तत्काल सम्बन्धित श्रमिकलाई फिर्ता गर्न निर्देशनात्मक आग्रह गरेको छ।
दूतावासको श्रम शाखाले पठाएको “Immediate Return of Original Passports to Nepali Employees” शीर्षकको इमेलमा हाल मलेसियाको अध्यागमन विभागले देशव्यापी रूपमा सञ्चालन गरिरहेको कडा निगरानी तथा प्रवर्तन छापामारीका अभियानका क्रममा धेरै नेपाली श्रमिकले अनावश्यक समस्या भोगिरहेको उल्लेख गरिएको छ।
दूतावासका अनुसार वैध राहदानी र वैध रोजगार अनुमति (PLKS) भएका नेपाली श्रमिकहरू समेत अध्यागमन जाँचका बेला आफ्नो मौलिक पासपोर्ट देखाउन नसक्दा पक्राउ पर्ने, हिरासतमा राखिने वा लामो समयसम्म कागजात प्रमाणीकरणको प्रक्रियामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। दूतावासले प्राप्त उजुरीअनुसार यस्ता धेरै घटनामा श्रमिकको मौलिक पासपोर्ट कम्पनी वा रोजगारदाताले आफूसँग राखेको पाइएको जनाएको छ।

२ हजार ७५१ रोजगारदाता कम्पनीलाई इमेलमार्फत दूतावासले मलेसियाको पासपोर्ट ऐन १९६६ (Act 150) को दफा 12(1)(f) स्मरण गराउँदै कानुनी अधिकारबिना अरू व्यक्तिको पासपोर्ट आफ्नो नियन्त्रणमा राख्नु अपराध हुने उल्लेख गरेको छ। यस्तो कसुर प्रमाणित भएमा अधिकतम RM10,000 जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी पनि दिइएको छ।
त्यसैगरी आप्रवासन ऐन १९५९/६३ (Act 155) को दफा 6(1)(c) अनुसार मलेसियामा रहेका सबै विदेशी नागरिकले आफ्नो मौलिक राहदानी र वैध अध्यागमन अनुमति साथमा राख्नुपर्ने कानुनी व्यवस्था रहेको दूतावासले स्पष्ट पारेको छ।
दूतावासले सबै कम्पनीलाई तत्काल नेपाली श्रमिकको मौलिक पासपोर्ट फिर्ता गर्न, सरकारी कामका लागि अस्थायी रूपमा लिएको भए काम सकिएपछि ढिलाइ नगरी श्रमिकलाई बुझाउन, श्रमिकलाई आफ्नो पासपोर्टमा पूर्ण पहुँच सुनिश्चित गर्न तथा कम्पनीमा सुरक्षित राख्ने नाममा पासपोर्ट संकलन गर्ने अभ्यास बन्द गर्न आग्रह गरेको छ।
यसैबीच दूतावासले अबदेखि नयाँ डिमान्ड एटेस्टेशन (Demand Attestation) का लागि पेश हुने आवेदनहरूमा श्रमिकको पासपोर्टको अवस्था, बैंकमार्फत तलब भुक्तानी, पेस्लिप, साप्ताहिक बिदाको पालना, JTKL आवास प्रमाणीकरण तथा नेपालस्थित वैदेशिक रोजगार एजेन्सीलाई सेवा शुल्क तिरेको प्रमाणलगायत विषय अनिवार्य रूपमा प्रमाणीकरण गरेर मात्र प्रक्रिया अगाडि बढाइने जनाएको छ।

दूतावासले कम्पनीहरूले श्रमिकको पासपोर्ट आफूसँग राख्ने कार्यले रोजगारदातालाई कानुनी जोखिममा पार्नुका साथै नेपाली श्रमिकलाई अध्यागमन कारबाहीका क्रममा अनावश्यक हिरासत, दुःख र झन्झटमा पार्ने भएकाले यस अभ्यासलाई तत्काल अन्त्य गर्न सबै रोजगारदातासँग अपिल गरेको छ।


















