मलेसियाबाट २ लाख ७५ हजार ७५५ जना अवैधानिक स्वदेश फर्किए, १३७.७ मिलियन रिङ्गिट संकलन।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले सञ्चालन गरेको Migrant Repatriation Programme 2.0 (स्वेच्छिक स्वदेश फिर्ता कार्यक्रम) अन्तर्गत हालसम्म २ लाख ७५ हजार ७५५ जना अवैध आप्रवासीले स्वदेश फर्किन आवेदन दिएका छन्।

मलेसियाका अध्यागमन महानिर्देशक दातुक जकारिया शाबानका अनुसार जुलाई १५ सम्म उक्त कार्यक्रममार्फत १३ करोड ७७ लाख रिङ्गिट (RM137.7 million) बराबरको जरिवाना तथा सेवा शुल्क संकलन गरिएको छ। कार्यक्रममा ११४ देशका नागरिक सहभागी भएका छन्।

उनका अनुसार अवैध आप्रवासीलाई पक्राउ गरेर मात्रै समस्या समाधान गर्न खोज्दा अध्यागमन हिरासत केन्द्र (डिपो) मा अत्यधिक भीड हुने भएकाले सरकारले स्वेच्छिक रूपमा आत्मसमर्पण गर्नेहरूलाई सहुलियतपूर्ण जरिवाना तिरेर कानुनी रूपमा आफ्नो देश फर्किने अवसर दिएको हो। यसले अवैध बाटो प्रयोग गरेर फर्किनुपर्ने अवस्था पनि अन्त्य हुने विश्वास गरिएको छ।

यो कार्यक्रम कागजातविहीन (Undocumented) आप्रवासी लाई कानुनी कारबाहीबिना स्वदेश फर्किने अवसर दिने उद्देश्यले सञ्चालन गरिएको हो। तर, अघिल्लो स्वदेश फिर्ता कार्यक्रममा नाम दर्ता गरेर पनि देश नफर्किएका, अध्यागमन विभागको कालोसूची (Blacklist) मा रहेका वा अन्य कानुनी निकायले खोजी गरिरहेका व्यक्तिहरू भने यस कार्यक्रममा सहभागी हुन पाउने छैनन्।

यस्तै, अध्यागमन विभागले हालसम्म देशभर ६३ हजार ४७५ वटा नयाँ स्तरोन्नत अन्तर्राष्ट्रिय राहदानी (पासपोर्ट) जारी गरिसकेको जनाएको छ। नयाँ पासपोर्टमा ९४ वटा सुरक्षा विशेषता समावेश गरिएको छ, जुन पुरानो संस्करणको ४९ सुरक्षा विशेषता भन्दा निकै उन्नत हो। यसमा होलोग्राम, अल्ट्राभायोलेट प्रिन्ट, लुकेका दृश्य संकेत तथा फरेन्सिक सुरक्षा प्रणाली जस्ता आधुनिक प्रविधि समावेश गरिएका छन्, जसले राहदानी नक्कली बनाउन अत्यन्त कठिन बनाउने अधिकारीहरूको भनाइ छ।

यसैबीच, Social Visit Pass (भिजिट पास) को दुरुपयोग गर्नेविरुद्ध गरिएको विशेष अभियानमा यस वर्ष मात्रै ४५१ जना विदेशी नागरिक पक्राउ परेका छन्। महानिर्देशक जकारियाले यस्तो दुरुपयोग मुख्यतः चिनियाँ नागरिकबाट भएको भन्ने दाबीलाई अस्वीकार गर्दै पक्राउ परेकामा इन्डोनेसिया, बंगलादेश, म्यानमारलगायत विभिन्न देशका नागरिक रहेको स्पष्ट पारे।