सेलाङ्गोरमा मानव बेचबिखनविरुद्ध ठूलो कारबाही : श्रीलङ्काली नागरिक पक्राउ, महिलाको उद्दार।

क्वालालम्पुर:= मलेसियाको अध्यागमन विभागले सेलाङ्गोर राज्यको जेन्जारोम क्षेत्रमा मानव बेचबिखन तथा श्रम शोषणविरुद्ध विशेष अभियान सञ्चालन गर्दै एक श्रीलङ्काली नागरिकलाई पक्राउ गरेको छ। अभियानका क्रममा श्रम शोषणको सिकार बनेकी एक श्रीलङ्काली महिलाको उद्धार गरिएको विभागले जनाएको छ।

अध्यागमन विभागका अनुसार यो अभियान २१ जुलाई २०२६ मा सर्वसाधारणबाट प्राप्त उजुरी र गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानपछि ३८ वर्षीय एक श्रीलङ्काली पुरुषलाई मानव बेचबिखन तथा श्रम शोषणमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको हो।

यसै क्रममा २१ देखि ५१ वर्ष उमेर समूहका थप ६ जना श्रीलङ्काली नागरिक (चार पुरुष र दुई महिला) लाई वैध राहदानी वा यात्रा कागजात नभएको अवस्थामा नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि अध्यागमन कानुनअनुसार आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

मानव बेचबिखनका सूचकसम्बन्धी राष्ट्रिय निर्देशिकाअनुसार गरिएको प्रारम्भिक अनुसन्धानले उद्धार गरिएकी महिला श्रम शोषणको पीडित रहेको देखाएको छ। अनुसन्धानबाट उनलाई लामो समयसम्म तलब नदिई काममा लगाइएको, पर्याप्त खाना नदिएको, शारीरिक दुर्व्यवहार गरिएको तथा विभिन्न किसिमका धम्की दिइएको तथ्य खुलेको छ।

उद्धार गरिएकी महिलालाई मानव बेचबिखन तथा आप्रवासी तस्करी नियन्त्रणसम्बन्धी कानुनअन्तर्गत अन्तरिम संरक्षण आदेश प्रदान गरिएको छ। साथै, घटनासम्बन्धी थप अनुसन्धान अध्यागमन कानुनअन्तर्गत पनि जारी रहेको विभागले जनाएको छ।

अध्यागमन विभागले श्रम शोषण, जबर्जस्ती श्रम र मानव बेचबिखनजस्ता अपराधप्रति शून्य सहनशीलता अपनाएको स्पष्ट गर्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

साथै, विभागले श्रम शोषण, मानव बेचबिखन वा अध्यागमन कानुनको दुरुपयोगसम्बन्धी कुनै पनि सूचना भए सम्बन्धित निकायलाई तत्काल जानकारी गराई यस्ता अपराध नियन्त्रणमा सहयोग गर्न सर्वसाधारणसँग अपिल गरेको छ।