क्वालालम्पुर := मलेसियाको जोहोर राज्यमा सम्पन्न १६ औं प्रदेश सभा निर्वाचनको परिणामले नेपालको आम निर्वाचनको झल्को दिएको छ। नेपालमा निर्वाचनका बेला नयाँ पार्टीहरूको लहर आए पनि मत परिणाम आउँदा जमानत जफत हुने प्रवृत्तिकै रूपमा जोहोर चुनावमा पनि ठूलो राजनीतिक फेरबदल देखिएको छ।
निर्वाचन नियमावली अनुसार कुल खसेको मतको कम्तीमा १२.५ प्रतिशत (एक-आठौँ भाग) मत ल्याउन नसक्दा चुनावी मैदानमा उत्रिएका विभिन्न दलका ५५ जना उम्मेदवारहरूको धरौटी जफत भएको छ भने कतिपय नयाँ पार्टीहरू पूर्ण रूपमा पत्तासाफ भएका छन्।
नेपालको चुनावमा केही नयाँ दलहरूले ठूलो उत्साहका साथ उम्मेदवारी दिए पनि जमानत समेत जोगाउन नसके जस्तै, मलेसियामा राफिजी राम्लीको नेतृत्वमा भर्खरै गठन भएको नयाँ दल पार्टी बर्समा मलेसिया को चुनावी नतिजा निकै निराशाजनक रह्यो।
चुनावी मैदानमा होमिएका बर्समाका सबै १५ जना उम्मेदवारहरूले आफ्नो धरौटी गुमाएका छन्। त्यसैगरी, पेरिकातान नेसनल (PN) का २१ जना, पकातान हारापान (PH) का ७ जना, मुडा (MUDA) का ४ जना र ६ जना स्वतन्त्र उम्मेदवारहरूको पनि धरौटी जफत भएको छ।
जोहोर राज्यमा मलेसियाको सबैभन्दा पुरानो र परम्परागत शक्ति बारिसन नेसनल (BN) पार्टी ले यस चुनावमा ऐतिहासिक जित हासिल गरेको छ। मतदाताहरूको ठूलो झुकाव संसद्का परम्परागत दलतर्फ मोडिएपछि बारिसन नेसनलले ५६ मध्ये ४८ सिटमा जित निकाल्दै दुई-तिहाइ बहुमतका साथ जोहोरको सत्ता कब्जा गरेको छ।
राजनैतिक विश्लेषकहरूका अनुसार मतदाताहरूले नयाँ र स-साना दलहरूलाई विश्वास नगरेका कारण विपक्षी र नयाँ पार्टीहरूले यो चुनावमा ठूलो पराजय भोग्नुपरेको हो।
अब यहाँ मलेसियाको जोहोर राज्यमा देखिएको राजनीतिक माहोलले के बुझ्न सकिन्छ भने , नेपालमा भरखरै उदाएका नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा” ले जनताको मताधिकार अनुसार काम गर्न सकेनन भने पुनः उहीँ पुरानै जल्दाबल्दा पार्टी को उदय नहोलान् भन्न सकिन्न।




















