क्वालालम्पुर:= मलेसियाको अध्यागमन विभागले देशभर सञ्चालन गरेको ‘ओप्स मेगा’ (Ops Mega) अभियानमा विभिन्न अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा ५०३ विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ३८ जना नेपाली नागरिक रहेका छन्।
अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबानका अनुसार जुलाई १२ देखि सुरु भएको उक्त अभियानमा अध्यागमन विभाग, राष्ट्रिय दर्ता विभाग (NRD), घरेलु व्यापार तथा जीवनयापन लागत मन्त्रालय (KPDN), स्थानीय निकाय र प्रहरीका ८७६ जना अधिकारी सहभागी थिए।
अभियानका क्रममा विदेशी नागरिक र रोजगारदाता गरी २,२६० जनाको जाँच गरिएको थियो। पक्राउ पर्नेमा २९० बंगलादेशी, १०१ म्यानमारका, ६६ इन्डोनेसियाली, ३८ नेपाली, ३६ भारतीय तथा अन्य विभिन्न देशका १० जना रहेका छन्।
अधिकारीहरूले अनुसन्धानमा सहयोगका लागि १२० जनालाई ‘फर्म २९’ नोटिस समेत जारी गरेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकामाथि वैध यात्रा कागजात बिना बसोबास, भिसा अवधि नाघेर बस्ने, पासको सर्त उल्लङ्घन गर्ने तथा अमान्य परिचयपत्र प्रयोग गर्ने लगायतका आरोप छन्।
जकारियाले केही विदेशी कामदारले निर्माण क्षेत्रमा काम गर्ने अनुमति लिएर कपडा तथा अन्य पसलमा काम गरेको समेत फेला परेको बताए। साथै, UNHCR कार्डधारी केही व्यक्तिलाई पनि उनीहरूको कागजातको वैधता जाँच गर्न नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
उनका अनुसार देशभर २०० भन्दा बढी विदेशी नागरिकको ‘हटस्पट’ क्षेत्र पहिचान गरिएको छ, जसमध्ये १०० भन्दा बढी क्लाङ भ्याली क्षेत्रमा रहेका छन्। विभागले यस्ता क्षेत्रमा अध्यागमन कारबाहीलाई अझ कडा बनाउने जनाएको छ।




















