क्वालालम्पुर:= मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको जालान केनाङ्गा क्षेत्रमा सञ्चालन गरेको ‘ओप मेगा’ कारबाहीमा १११ विदेशी नागरिकलाई पक्राउ गरेको छ।
अधिकारीलाई देखेपछि केही विदेशी भागाभाग गरेका थिए भने केही पक्राउबाट बच्न ज्यान जोखिममा राखेर भवनको छत, बाकसको थुप्रो तथा पसलभित्रका विभिन्न स्थानमा लुकेका थिए।
तर, अध्यागमन विभाग (JIM) पुत्रजायाले आज बिहान ११ बजे छापा मार्नुअघि नै कपडाका थोक व्यापारीहरूको प्रमुख केन्द्र मानिने जालान केनाङ्गा आसपासको क्षेत्र घेराबन्दी गरेकाले उनीहरूको भाग्ने र लुक्ने प्रयास सफल हुन सकेन।
कारबाहीका क्रममा कुल २३६ जनाको विस्तृत जाँच गरिएकोमा १११ विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको हो।
छापाका क्रममा अवैध विदेशी कामदार राखेको आरोपमा जरिवाना हुन सक्ने डरले एक रोजगारदाताले आफ्ना विदेशी कामदारलाई कपडा पसलको चौथो तलाको माथिल्लो भागमा लुक्न निर्देशन दिएको समेत पाइएको थियो। अधिकारीहरूले चौथो तलामा खोजतलास गर्दा लुकेर बसेका पाँच विदेशी कामदार फेला पारेका थिए।
अर्को एक व्यावसायिक प्रतिष्ठानमा अध्यागमन अधिकारीहरूले ताल्चा लगाइएको फलामे ढोका फोडेर प्रवेश गर्नुपरेको थियो। त्यहाँ बाकसको थुप्रोभित्र तथा सजावटका पुतलाहरूको बीचमा लुकेर बसेका विदेशी नागरिक फेला परेका थिए।
सोही परिसरबाट पक्राउ परेका २७ वर्षीय एक बंगलादेशी नागरिकले आफू क्वालालम्पुरस्थित एक कलेजको विद्यार्थी भएको दाबी गरेका थिए। उनले आफू त्यहाँ काम नगरेको र अध्ययनरत रहेकाले माथिल्लो तलामा केवल बस्ने तथा सुत्ने गरेको बताएका थिए।
बाकसको बीचमा लुकेका अर्का बंगलादेशी नागरिकले पनि आफू कलेजमा व्यवसाय विषय अध्ययन गर्ने विद्यार्थी भएको दाबी गरे। तर अध्यागमन अधिकारीले विद्यार्थी पासको प्रमाण माग्दा उनले कुनै कागजात देखाउन सकेनन् र आफूसँग त्यस्तो कागजात नभएको स्वीकार गरे।
त्यसपछि दुवै जनासहित नियन्त्रणमा लिइएका विदेशी नागरिकलाई अध्यागमनसम्बन्धी कसुर पहिचान गर्न थप जाँच तथा अनुसन्धानका लागि हिरासतमा लिइएको मलेसियाको अध्यागमन विभागले जनाएको छ।




















