क्लाङ (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (JIM) का अधिकारीहरू देखेपछि क्लाङ सहरको केन्द्रमा रहेको चर्चित ‘बस स्ट्यान्ड क्लाङ’ क्षेत्रमा रहेका विदेशी नागरिकहरूबीच भागदौड मच्चिएको छ। पक्राउबाट बच्न केही विदेशीहरू जथाभावी भागेका थिए भने एक व्यक्तिले बसबाट हाम फालेर भाग्ने प्रयाससमेत गरेका थिए।
आज दिउँसो करिब १२ बजे सेलाङ्गोर अध्यागमन विभाग (JIM Selangor) र पुत्राजया अध्यागमन विभाग (JIM Putrajaya) को संयुक्त टोलीले उक्त क्षेत्रमा एकीकृत कारबाही सञ्चालन गरेको हो।
प्राप्त जानकारीअनुसार, कारबाहीका क्रममा विभिन्न देशका एक हजारभन्दा बढी विदेशी नागरिकको कागजात जाँच गरिएको छ। अध्यागमन अधिकारीहरू पुगेपछि वैध कागजात नभएका केही विदेशी नागरिकहरू भागेर नजिकका पसल तथा भवनहरूबीच लुक्ने प्रयास गरेका थिए। तर अधिकारीहरूले पहिले नै क्षेत्रलाई घेराबन्दी गरेकाले उनीहरूको भाग्ने प्रयास असफल भएको बताइएको छ।
जाँचमा परेका सबै विदेशी नागरिकसँग वैध राहदानी, यात्रा कागजात तथा काम गर्ने अनुमति वा सम्बन्धित पास भए–नभएको परीक्षण गरिएको थियो। स्थानीय एक व्यापारीका अनुसार उक्त व्यापारिक क्षेत्र विशेषगरी सप्ताहन्तमा विदेशी नागरिकहरूको प्रमुख जमघटस्थल बन्ने गरेको छ। उनीहरू त्यहाँ भेटघाट गर्ने र आफ्ना देशका सामान किनमेल गर्न आउने गरेको उनले बताए।
उक्त क्षेत्रमा विशेषगरी बंगलादेश, म्यानमार र नेपालका नागरिकहरूको बाक्लो उपस्थिति रहने गरेको बताइएको छ। यस कारबाही र पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरणबारे मलेसियाका अध्यागमन महानिर्देशकले भोलि पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताइएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि मलेसियाको अध्यागमन ऐन १९५९/६३ को दफा १५(१)(c) अन्तर्गत तोकिएको अवधिभन्दा बढी समय बसेको तथा दफा ६(१)(c) अन्तर्गत वैध यात्रा कागजात वा पासबिना मलेसियामा बसेको आरोपमा अनुसन्धान भइरहेको छ।




















