क्यानडा पठाइदिने भन्दै २६ जनाबाट साढे २ करोड ठगी, ४६ वर्षीय चौधरी पक्राउ।

काठमाडौं:= वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ मा बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेका छन्।

प्रहरीका अनुसार चौधरीले आकर्षक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रकम असुली गरेका थिए। पीडित २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ संकलन गरेपछि उनी सम्पर्कविहीन भएको बताइएको छ।

आफूहरू ठगीमा परेको थाहा पाएपछि पीडितहरूले सम्बन्धित निकायमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।

वैदेशिक रोजगारीको आकर्षक अवसर देखाउँदै ठूलो रकम असुली गरी सम्पर्कविहीन भएको आरोपमा पक्राउ परेका चौधरीमाथि कानुनबमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको तथा पीडितबाट असुलिएको रकम कहाँ र कसरी प्रयोग गरिएको थियो भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको छ।