केलयआईए विमानस्थलमा यात्रु ठग्ने अवैध ट्याक्सी र बिचौलियामाथि २४सै घण्टा कडा निगरानी।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा यात्रुहरूलाई सास्ती दिने र ठगी गर्ने अवैध ट्याक्सी चालक तथा बिचौलिया हरूलाई नियन्त्रण गर्न आगामी हप्तादेखि २४सै घण्टा कडा निगरानी र गस्ती गरिने भएको छ।

मलेसियाको सडक यातायात विभाग (JPJ) का अनुसार यसअघि सीमित समयका लागि मात्र हुने गरेको गस्तीलाई अब तीन सिफ्टमा विभाजन गरी टर्मिनल १ र टर्मिनल २ दुवैमा स्थायी रूपमा परिचालन गरिनेछ। विमानस्थलमा ओर्लिने विदेशी पर्यटक तथा सोझा यात्रुहरूलाई ठगीबाट जोगाउन र देशको छवि सुधार्न मलेसियाको यातायात मन्त्रालयको निर्देशनमा यो कदम चालिएको हो।

विमानस्थलमा सक्रिय रहने यी अवैध बिचौलियाहरूले विशेष गरी विदेशी नागरिकहरूलाई निसाना बनाउने र सामान्य भाडा (करिब ८० रिंगिट) पर्ने गन्तव्यका लागि ५०० देखि ८०० रिंगिटसम्म असुल गरी ठगी गर्ने गरेको पाइएको छ। हालै विभागले गरेको दुई हप्ता लामो विशेष अपरेसन (Op Ulat) का क्रममा ५९ वटा सवारीसाधन जाँच गर्दा ५४ वटा अवैध सवारीसाधनहरू जफत गरिएको थियो।

यस प्रकारको ठगी धन्दामा स्थानीय मलेसियन नागरिकका साथै बंगलादेशी नागरिकहरू समेत संलग्न भई आफ्नै देशका श्रमिक र यात्रुहरूलाई ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ।सडक यातायात विभागका महानिर्देशक दातुक एदी फदली राम्लीका अनुसार, मलेसिया एयरपोर्ट्स होल्डिङ्स बिएचडी (MAHB) सँगको सहकार्यमा अब विमानस्थल भित्र र बाहिरका संवेदनशील क्षेत्रहरूमा निरन्तर निगरानी गरिनेछ।

सुरक्षा अधिकारीहरूले विमानस्थल प्रयोग गर्ने सम्पूर्ण यात्रुहरूलाई कसैको बहकाउमा नलाग्न र यात्राका लागि विमानस्थलको आधिकारिक काउन्टर वा Grab जस्ता प्रमाणित e-hailing एपहरू मात्र प्रयोग गर्न आग्रह गरेका छन्। नयाँ नियम लागू भएसँगै अवैध रूपमा यात्रु तान्ने र बढी भाडा असुल्नेहरूलाई कडा कानुनी कारबाही र जरिवाना गरिने चेतावनी समेत दिइएको छ।