मलेसियाको जोहोरमा नेपाली महिलाको शंकास्पद मृत्यु, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान।

[ तिलोचन गौतम ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियाको जोहोर राज्यमा कार्यरत एक नेपाली महिला श्रमिकको शंकास्पद अवस्थामा मृत्यु भएको घटनाले मलेसियामा रहेका नेपाली समुदायमा चिन्ता र त्रास बढाएको छ। मृतक इलामको माइजोगमाई गाउँपालिका–४ निवासी मन्जु तामाङ रहेको प्रारम्भिक रूपमा खुलेको छ।

प्राप्त जानकारीअनुसार तामाङ गत शनिबार साथीको कोठामा जाने भन्दै आफ्नै बस्ने स्थानबाट निस्किएकी थिइन्। त्यसपछि सोमबारदेखि उनको फेसबुक, टिकटक र मेसेन्जर खाताबाट साथीहरूलाई लगातार सन्देश आउन थालेका थिए। ती सन्देशहरूमा आफू अपरिचित व्यक्तिसँग फसेको, आईफोन फुटेको, क्षतिपूर्ति नतिरेसम्म नछाडिने तथा तत्काल आर्थिक सहयोग आवश्यक परेको उल्लेख गरिएको थियो।

केही सन्देशमा “पैसा मिलाइदिनुहोस्, म अझै बन्धकमा छु” भन्ने आशयसमेत रहेको बताइएको छ। उनको नम्बरबाट लगातार यस्ता सन्देश आएपछि साथीहरूले उनी कार्यरत कम्पनीलाई जानकारी गराएका थिए। त्यसपछि कम्पनीले मलेसियाली प्रहरीमा उजुरी दर्ता गरेको जनाएको छ।

प्रहरीको अनुसन्धानका क्रममा बुधबार मन्जु तामाङको नाममा जोहोरस्थित एक होटलमा कोठा बुक गरिएको खुलेको थियो। होटल व्यवस्थापनका अनुसार चेक–आउट गर्ने समयसम्म पनि कोठाबाट कुनै प्रतिक्रिया नआएपछि ढोका खोलेर हेर्दा उनको शव फेला परेको थियो।

घटनापछि कम्पनीका प्रतिनिधि र प्रहरी टोली शवको औपचारिक सनाखतका लागि अस्पताल पुगेका छन्। मलेसियाली प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण र शवको आधिकारिक पहिचान पुष्टि हुने जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत पठाइएका सन्देश कसले पठाएको, घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको तथा मृत्युको वास्तविक कारणबारे विभिन्न कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ।

नेपाली समुदायले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।