क्वालालम्पुरको तामान मलुरीस्थित “पासार मालाम” मा अध्यागमनको छापा, २०० जना पक्राउ।

क्वालालम्पुर(मलेसिया):= मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको तामान मलुरी (Taman Maluri) रात बजारमा विशेष अपरेशन सञ्चालन गर्दै २०० जना अवैधानिक विदेशी नागरिकलाई पक्राउ गरेको छ।

स्थानीय सञ्चारमाध्यम Sinar Harian का अनुसार स्थानीय बासिन्दाबाट विदेशी नागरिकहरूको अत्यधिक जमघटबारे लगातार गुनासो आएपछि अध्यागमन विभागले दुई सातासम्म निगरानी गरेपछि ‘अप कुटिप (Op Kutip)’ नामक विशेष कारबाही सञ्चालन गरेको हो।

यो अपरेशन क्वालालम्पुर तथा पुत्रजया अध्यागमन विभागले क्वालालम्पुर सिटी हल (DBKL) को सहयोगमा सञ्चालन गरेको थियो।

क्वालालम्पुर अध्यागमन निर्देशक हम्सा इन्जाउका अनुसार अपरेशनका क्रममा ५०० जनाको कागजात जाँच गरिएको थियो। जसमध्ये ४०७ जना विदेशी नागरिक९३ जना मलेसियाली थिए। जाँचपछि २०० विदेशी नागरिकलाई अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा १२५ पुरुष७५ महिला रहेका छन्। उनीहरू इन्डोनेसिया, बंगलादेश, म्यानमार, भियतनाम, चीन, पाकिस्तान तथा भारतका नागरिक हुन्।

साँझ करिब ६ बजे सुरु भएको अपरेशनका क्रममा अध्यागमन टोलीलाई देख्नेबित्तिकै धेरै विदेशी नागरिक भाग्ने प्रयास गरेका थिए भने केहीले लुक्ने प्रयास पनि गरेका थिए। तर निगरानीमा रहेका अधिकारीहरूले उनीहरूलाई खोजी गरी नियन्त्रणमा लिएका थिए।

निर्देशक हम्साका अनुसार पक्राउ परेकामाथि वैध यात्रा कागजात नभएको, भिसा अवधि सकिएपछि पनि बसोबास गरेको (ओभरस्टे), सामाजिक भ्रमण पास (Social Visit Pass) को दुरुपयोग गरेको तथा अध्यागमन पासको सर्त उल्लङ्घन गरेको जस्ता आरोप लागेका छन्।

उनले तामान मलुरीमा मात्रै नभई क्वालालम्पुरका अन्य रात बजारहरूमा पनि यस्ता विशेष अपरेशन निरन्तर सञ्चालन गरिने जानकारी दिए। साथै अवैध आप्रवासीलाई आश्रय दिने रोजगारदाता, व्यवसायी, एजेन्ट, गिरोह तथा सहयोगीहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।

हम्साले अध्यागमन कानुन उल्लङ्घन गर्ने जो–कोहीविरुद्ध कुनै सम्झौता नगरी कानुनअनुसार निष्पक्ष र व्यावसायिक रूपमा कारबाही जारी रहने स्पष्ट पार्दै, शंकास्पद गतिविधिबारे सूचना उपलब्ध गराएर सहयोग गर्न सर्वसाधारणलाई पनि आग्रह गरेका छन्।