क्वालालम्पुर (मलेसिया):= सन् २०२६ को पहिलो छ महिनामा मलेसियामा डेङ्गु सङ्क्रमण र यसका कारण हुने मृत्युदर दुवैमा तीव्र वृद्धि भएको छ। मलेशियाको स्वास्थ्य मन्त्रालय (MoH) का अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष डेङ्गुका बिरामीको संख्या २९.१ प्रतिशत (करिब ३०%) ले बढेर ३८,८५४ पुगेको छ। अझ डरलाग्दो कुरा, यस अवधिमा मृत्युदरमा ६६.७ प्रतिशतको ठूलो वृद्धि भई ३० जनाले ज्यान गुमाइसकेका छन्, जबकि गत वर्ष यो अवधिमा १८ जनाको मात्र मृत्यु भएको थियो।
मन्त्रालयका अनुसार विगतमा कम सक्रिय रहेको ‘DENV-3’ भाइरसको नयाँ रूप फैलिएकाले यो वर्ष बिरामी र मृत्यु हुनेको संख्या बढेको हो। सङ्क्रमण र मृत्युदर उच्च रहे तापनि मलेसियाको स्वास्थ्य मन्त्रालयले देशमा डेङ्गुको प्रकोप अझै पनि पूर्ण नियन्त्रणमा रहेको स्पष्ट पारेको छ। मौसमी परिवर्तन, लगातारको वर्षा र उच्च तापमानका कारण लामखुट्टेको प्रजनन प्रक्रिया तीव्र भएकाले अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ।
यो घातक बढोत्तरीलाई रोक्न मन्त्रालयले लामखुट्टे नष्ट गर्ने र जनचेतना जगाउने अभियानलाई तीव्र बनाएको छ। नागरिकहरूलाई आफ्नो घर वरपर पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउन विशेष आग्रह गरिएको छ। मलेशिया सरकारले महामारीलाई थप फैलिन नदिन स्थानीय समुदायहरूसँग मिलेर ‘सर्च एण्ड डिस्ट्रोय’ (खोज्ने र नष्ट गर्ने) जस्ता प्रतिकार्य कार्यक्रमहरूलाई देशव्यापी रूपमा सञ्चालन गरिरहेको छ।




















