क्वालालम्पुर (मलेसिया):= मलेसियाको मौसम विज्ञान विभाग (MetMalaysia) ले आगामी वर्ष सन् २०२७ को मार्चदेखि मे महिनाको अवधिमा देशमा अत्यधिक गर्मी बढेर दैनिक अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने गम्भीर चेतावनी जारी गरेको छ।
विश्वव्यापी रूपमा बढ्दै गएको भूमण्डलीय तापक्रम वृद्धि (Global Warming) र प्रशान्त महासागरमा तीव्र रूपमा विकसित भइरहेको शक्तिशाली ‘एल निन्यो’ (Strong El Niño) जलवायु प्रणालीका कारण यो वर्ष चरम मौसमी संकट देखिने पूर्वानुमान गरिएको हो।
विशेष गरी पेनिनसुलर मलेसियाका उत्तरी राज्यहरू, केलान्तान र पहाङका भित्री क्षेत्रहरूका साथै सबाह र सारावाकका भूभागहरू यस अत्यधिक गर्मी र लु (Heatwave) को उच्च जोखिममा रहनेछन्।
यो सम्भावित लामो समयको खडेरी र चरम गर्मीले मलेसियाको जनस्वास्थ्य, पर्यावरण र अर्थतन्त्रमा बहुआयामिक नकारात्मक असर पार्ने अनुमान गरिएको छ।
तीव्र तापक्रम वृद्धिका कारण जलाशयहरूमा पानीको स्तर घट्न गई खानेपानी आपूर्तिमा ठूलो अवरोध आउने, कृषि बालीहरू नष्ट हुने र जलविद्युत उत्पादनमा समेत संकुचन आउन सक्ने खतरा छ।
यसका साथै सुख्खा मौसमका कारण जङ्गलमा डढेलो लाग्ने र वायु प्रदुषण बढेर रैथाने तुवाँलोको समस्या पुनः बल्झिन सक्ने हुनाले सरकारले खुल्ला रूपमा फोहोर वा पातहरू जलाउन पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ।




















