क्वालालम्पुर (मलेसिया):= मलेसियाको जोहोर राज्यस्थित लार्किन औद्योगिक क्षेत्रका दुई कारखानाहरूमा अध्यागमन विभागले ठूलो मात्रामा छापा मारेको छ।
घडी र स्न्याक्स (खाजा) उत्पादन गर्ने ती कारखानाहरूमा गरिएको विशेष संयुक्त कारबाहीका क्रममा कुल ८१ जनालाई हिरासतमा लिइएको हो। पक्राउ पर्नेहरूमा ८० जना अवैध विदेशी कामदार र उनीहरूलाई काममा लगाउने १ जना स्थानीय मलेसियन मानव संसाधन (HR) अधिकारी अर्थात् सुपरभाइजर रहेका छन्।
विभागका अनुसार पक्राउ परेका विदेशी नागरिकहरू म्यानमार, बङ्गलादेश, इन्डोनेसिया र पाकिस्तानका रहेका छन्। उनीहरूसँग मलेसियामा बस्न र काम गर्नका लागि आवश्यक पर्ने वैध कागजात वा अनुमति पत्र नभएको पाइएको छ। अध्यागमन कानुन उल्लंघन गरेको कसुरमा उनीहरू सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सुरक्षित हिरासतमा राखिएको छ।
स्थानीय सुपरभाइजरलाई भने वैध कागजात नभएका विदेशी नागरिकहरूलाई आश्रय दिएको र गैरकानुनी रूपमा रोजगारीमा राखेको गम्भीर आरोप लगाइएको छ। मलेसियाको अध्यागमन विभागले अवैध आप्रवासी र उनीहरूलाई लुकाउने रोजगारदाताहरू विरुद्ध आफ्नो कारबाहीलाई अझ तीव्र बनाउने चेतावनी दिएको छ।




















