मलेसियामा नयाँ नियम: अब प्रहरीले जथाभावी सर्वसाधारणको मोबाइल चेक गर्न नपाउने।

क्वालालम्पुर := मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले प्रहरी अधिकारीहरूले सडक वा सार्वजनिक स्थलमा सर्वसाधारणको मोबाइल फोन जथाभावी र विना कुनै वैध कारण जाँच (चेक) गर्न नपाउने स्पष्ट पार्नुभएको छ।

संसदमा बोल्दै गृहमन्त्री सैफुद्दिनले प्रहरीले कसैको पनि व्यक्तिगत डिजिटल उपकरण चेक गर्नका लागि ठोस कानुनी आधार वा आपराधिक गतिविधिमा संलग्न भएको बलियो शङ्का हुनुपर्ने नियम अनिवार्य गरिएको जानकारी दिनुभयो।

यस निर्णयले सडक अवरोध (रोडब्लक) वा सामान्य सोधपुछका नाममा सर्वसाधारणमाथि हुने अनावश्यक सास्तीलाई रोक्ने विश्वास गरिएको छ। मलेसियाको प्रचलित कानुन र प्रहरी नियम पुस्तिका अनुसार सबै दर्जाका प्रहरीलाई सर्वसाधारणको फोन माग्ने वा खोतल्ने अधिकार छैन।

केवल इन्स्पेक्टर वा सोभन्दा माथिल्लो दर्जाका आधिकारिक प्रहरी अधिकारीहरूले मात्र चलिरहेको कुनै अनुसन्धान वा दर्ता भएको उजुरीको दायराभित्र रहेर मोबाइल फोन वा अन्य इलेक्ट्रोनिक उपकरणको जाँच गर्न पाउनेछन्। तल्लो दर्जाका प्रहरी कर्मचारीले सर्वसाधारणको अनुमति वा माथिल्लो अधिकारीको विशेष आदेश बिना फोन माग गरेमा त्यो नियम विपरीत हुने मन्त्रालयले स्पष्ट पारेको छ।

गृहमन्त्रीले सर्वसाधारणलाई आफ्नो कानुनी अधिकारबारे सचेत रहन आग्रह गर्दै यदि कुनै प्रहरी अधिकारीले जबरजस्ती वा बिना कुनै कारण मोबाइल फोन चेक गर्न खोजेमा त्यसको विरुद्धमा उजुरी दिन सक्ने बताउनुभएको छ।

त्यस्तो अवस्थामा सर्वसाधारणले उक्त प्रहरी अधिकारीको नाम, ब्याच नम्बर र घटना भएको स्थान सुरक्षित राखी नजिकैको प्रहरी चौकी वा सरोकारवाला निकायमा उजुरी दर्ता गराउन सक्छन्। सरकारले प्रहरी प्रशासनलाई अझ बढी जिम्मेवार र नागरिकमैत्री बनाउन यो कदम चालेको हो।