क्वालालम्पुर (मलेसिया):= मलेसियाको गृह मन्त्रालयले राजधानी क्वालालम्पुर र त्यसको वरपरका क्षेत्रमा विदेशि नागरिकहरूद्वारा भिक माग्ने कार्यहरू कुनै व्यक्तिगत बाध्यता नभएर एउटा ठूलो संगठित आपराधिक गिरोह (Syndicate) द्वारा सञ्चालित भइरहेको खुलासा गरेको छ।
यसै सिलसिलामा अध्यागमन विभाग र सुरक्षा निकायले चलाएको विशेष अपरेसनका क्रममा ४२ जना विदेशी मगन्तेहरूलाई नियन्त्रणमा लिइएको छ। मन्त्रालयका अनुसार सुरक्षा एजेन्सीहरूले यस वर्षको सुरुदेखि मे ३१ सम्म कुल ८३६ वटा विशेष प्रवर्तन अपरेसनहरू चलाएका थिए।
त्यस क्रममा विभिन्न अध्यागमन सम्बन्धी अपराधमा संलग्न कुल ५,४११ जना विदेशी नागरिकहरूमाथि छानबिन गरिएको थियो, जसमध्ये ४२ जना प्रत्यक्ष रूपमा भीख माग्ने रैकेटमा संलग्न रहेको भेटिएका छन्। मलेसियाली गृह मन्त्रालयले यो अनुसन्धान केवल विदेशी मगन्तेहरूमा मात्र सीमित नरहने प्रस्ट पारेको छ।
यस्ता गिरोहहरू चलाउने, विदेशी नागरिक वा बालबालिकाहरूलाई माग्न बाध्य पार्ने र उनीहरूलाई सेल्टर दिने स्थानीय मलेसियन नागरिकहरूको पनि पहिचान भइरहेको र उनीहरूविरुद्ध कानुन बमोजिम कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ।
प्रशासनले यस्ता संगठित गिरोहहरूलाई बढवा नदिन र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त सुरक्षा निकायलाई जानकारी दिन सर्वसाधारणसँग अपिल समेत गरेको छ।
PIC : BERNAMA




















