मलेसियाको राहदानी अब नयाँ स्वरूपमा: ९४ सुरक्षा विशेषतासहित, १० वर्षे राहदानी पनि उपलब्ध।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले जुन ३० मा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय मलेसियन राहदानी (International Malaysian Passport) सार्वजनिक गर्नुभएको छ।

नयाँ राहदानीमा अत्याधुनिक ९४ वटा सुरक्षा विशेषता (Security Features) समावेश गरिएको छ, जसले राहदानीलाई अझ सुरक्षित र विश्वसनीय बनाउने सरकारको विश्वास छ।

संसद भवनको लबीमा आयोजित कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक दातुक जाकारिया शाबानले प्रधानमन्त्री अनवरलाई नयाँ राहदानी हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा गृहमन्त्री दातुक सेरी सैफुद्दिन नासुतियोन इस्माइल तथा प्रधानमन्त्रीकी पत्नी दातुक सेरी डा. वान अजीजाह वान इस्माइल पनि उपस्थित हुनुहुन्थ्यो।

गृह मन्त्रालयका अनुसार, नयाँ राहदानीको डिजाइनले राष्ट्रिय यात्रा दस्तावेजको सुरक्षा स्तरलाई उल्लेखनीय रूपमा वृद्धि गर्नुका साथै नागरिकलाई थप सुविधा र मूल्य प्रदान गर्नेछ।

जुलाई १ देखि आवेदन खुला

जुलाई १, २०२६ देखि १८ वर्ष वा सोभन्दा माथिका मलेसियाली नागरिकले नयाँ राहदानीका लागि आवेदन दिन सक्नेछन्। अब नागरिकले आफ्नो आवश्यकताअनुसार ५ वर्ष वा १० वर्ष अवधिको राहदानी छनोट गर्न सक्नेछन्।

शुल्क कति?

  • ५ वर्षे राहदानी: RM200
  • १० वर्षे राहदानी: RM350

गृह मन्त्रालयका अनुसार, १० वर्षे राहदानी लिँदा पटक–पटक नवीकरण गर्नुपर्ने झन्झट कम हुने र समग्रमा RM50 बराबरको बचत पनि हुनेछ।

चरणबद्ध रूपमा सेवा विस्तार

नयाँ राहदानी सेवा देशभरका ७१ वटा राहदानी कार्यालयबाट जुलाई महिनादेखि चरणबद्ध रूपमा सञ्चालन गरिनेछ। सरकारले हाल प्रयोगमा रहेका राहदानीहरू तुरुन्तै परिवर्तन गर्न आवश्यक नरहेको स्पष्ट पारेको छ। हालको राहदानीको म्याद सकिन ६ महिना वा कम बाँकी रहेपछि मात्रै नयाँ राहदानी बनाउन नागरिकलाई आग्रह गरिएको छ।

यसअघि गृहमन्त्री सैफुद्दिन नासुतियोनले देशको डेटा सुरक्षा थप सुदृढ बनाउन नयाँ डिजाइनको राहदानी र MyKad ल्याइने घोषणा गर्नुभएको थियो। उल्लेखनीय रूपमा, मलेसियाको राहदानी सन् २०२५ को Passport Index अनुसार विश्वकै तेस्रो शक्तिशाली राहदानीमध्ये एक मानिएको छ। Source : Bernama