काठमाडौं := मलेसियाका देशभर नै रहेका विभिन्न अध्यागमन विभागको हिरासत “डिपोर्ट सेन्टर” हरूमा सन् २०२१ देखि २०२५ सम्मको ५ वर्षको अवधिमा नेपाली सहित कुल ४६५ जना विदेशी नागरिकको मृत्यु भएको छ।
मलेसियाको गृह मन्त्रालयले संसदमा प्रस्तुत गरेको आधिकारिक तथ्याङ्क अनुसार सो अवधिमा हिरासतमा रहेका कुल ३ लाख ४९ हजार ८ सय ५६ जनामध्ये यी नागरिकहरूको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा ३९३ जना पुरुष, ६० जना महिला र १२ जना बालबालिका रहेका छन्।
राष्ट्रियताका आधारमा मृत्यु हुनेहरूमा सबैभन्दा बढी २२२ जना फिलिपिन्सका, १०९ जना इन्डोनेशियाका र ६१ जना म्यानमारका नागरिक रहेका छन्। नेपाल सहित बंगलादेश, भारत, थाइल्याण्ड, भियतनाम जस्ता मुलुकका बाँकी ७३ जना मृतकहरूलाई मन्त्रालयले ‘अन्य देश’ को सूचीमा वर्गीकरण गरेको छ, जसमा नेपाली नागरिकको छुट्टै संख्या भने स्पष्ट खुलाइएको छैन।
पोस्टमार्टम रिपोर्टहरूलाई उद्धृत गर्दै गृह मन्त्रालयले हिरासतमा रहेका व्यक्तिहरूको मृत्यु मुख्यतया स्वास्थ्य समस्या र विभिन्न रोगहरूका कारण भएको जनाएको छ। जसमा सेप्सिस (Sepsis), श्वासप्रश्वास सम्बन्धी रोग, मुटुको समस्या, कलेजोको रोग र संक्रामक रोगहरू मुख्य कारण रहेका छन्।
मन्त्रालयले हिरासतमा रहेका विदेशी नागरिकहरूको स्वास्थ्य र कल्याणका लागि प्रारम्भिक स्वास्थ्य जाँच, नियमित परीक्षण र उचित खानपानमा सुधार गरिरहेको दाबी गरेको छ।
स्रोत- स्थानीय मीडिया




















