काठमाडौं := वैदेशिक रोजगार विभागले उजुरी फछ्र्यौट नगर्ने म्यानपावर कम्पनीमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ। विभागका अनुसार असार मसान्तसम्म उजुरी समाधान नगर्ने म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गरिने छैन र साउन १ गतेदेखि वैदेशिक रोजगारीमा नयाँ कामदार पठाउन पनि रोक लगाइनेछ।
हाल विभागमा करिब ४४ हजार उजुरी विचाराधीन छन्, जसमा अधिकांश ठगी, तोकिएभन्दा बढी रकम असुल्ने, सम्झौताअनुसार काम वा तलब नदिने तथा अन्य सेवा–सुविधाबाट वञ्चित गरिएका घटनासँग सम्बन्धित छन्।
प्रमाणित उजुरीमा विभागले म्यानपावर कम्पनीको धरौटीबाट पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ। साथै, साउनदेखि उजुरी दर्ता, अनुसन्धान, राहत तथा उद्धारको काम नयाँ प्रणालीमार्फत थप प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।
यता म्यानपावर व्यवसायीहरूले भने पहिले वैदेशिक रोजगार नीतिमा सुधार गर्नुपर्ने भन्दै विभागको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।




















