क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले जनअपेक्षाअनुसार निर्माण गरिएको नयाँ एलआरटी–३ (लाइट रेल ट्रान्जिट–३) सेवा आईतवारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम ले विशेष समारोहबीच रेल सेवाको उद्घाटन गर्दै आगामी जुलाई ३१, २०२६ सम्म यस मार्गमा यात्रा पूर्ण रूपमा निःशुल्क हुने घोषणा गर्नुभएको हो।
प्रधानमन्त्री अनवरका अनुसार एक महिनासम्म यात्रुहरूले टच ‘एन’ गो (Touch ‘n Go) कार्ड वा टोकन प्रयोग गरी यात्रा गर्न सक्नेछन्, तर कुनै पनि भाडा काटिने छैन। यस सुविधा अन्तर्गत एलआरटी सेवा मात्र नभई यस मार्गमा सञ्चालन हुने प्रासारना मलेसिया का सबै फिडर बस सेवासमेत निःशुल्क उपलब्ध हुनेछन्।

करिब ३७ दशमलव ८ किलोमिटर लामो एलआरटी–३ रेलमार्गले बन्दर उतामा देखि जोहान सेतिया सम्मका २० वटा स्टेशन लाई जोडेको छ। अत्यधिक सवारी चाप र ट्राफिक जामका लागि परिचित शाह आलम र क्लाङ क्षेत्रका यात्रुलाई सहज, छिटो र सुरक्षित सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले यो परियोजना सञ्चालनमा ल्याइएको हो।

करिब १६ अर्ब ६३ करोड मलेसियन रिङ्गिट को लागतमा निर्माण गरिएको यस परियोजनाले दैनिक हजारौं यात्रुको समय बचत गर्नुका साथै सडकमा हुने ट्राफिक जामलाई उल्लेखनीय रूपमा घटाउने सरकारको अपेक्षा रहेको प्रधानमन्त्री अनवरले बताउनुभयो। साथै सरकारले सर्वसाधारणलाई एक महिनासम्म उपलब्ध हुने निःशुल्क सेवाको अधिकतम लाभ उठाउन आग्रह गरेको छ।




















