पोर्चुगल र कप्तान क्रिस्टियानो रोनाल्डो यसपटकका विश्वकप २०२६ च्याम्पियन बन्ने: तान्त्रिक नाना क्वाकु बोन्साम।

एजेन्सी := घानाका विवादास्पद आध्यात्मिक गुरु (तान्त्रिक) नाना क्वाकु बोन्सामले फिफा विश्वकप २०२६ बारे अर्को साहसी भविष्यवाणी गर्दै पोर्चुगल र कप्तान क्रिस्टियानो रोनाल्डो यसपटकका विश्व च्याम्पियन बन्ने दाबी गरेका छन्।

केही दिनअघि मात्र उनले इङ्ल्यान्डका कप्तान ह्यारी केनमाथि आफूले ‘जादु गरेको’ दाबी गरेर चर्चा बटुलेका थिए। अब उनले पोर्चुगलको विश्वकप जित खेल मैदानभन्दा बाहिर नै तय भइसकेको बताएका छन्। स्थानीय सञ्चारमाध्यम हरूका अनुसार बोन्सामले भने, “यो विश्वकप पोर्चुगल र क्रिस्टियानो रोनाल्डोकै हो। उनीहरूले उपाधि जित्नेछन्।”

उनले थप दाबी गर्दै भने, “आध्यात्मिक संसारमा पोर्चुगलले विश्वकप जितिसकेको छ। रोनाल्डो ढुक्क हुन सक्छन्, किनभने उनको समय आइसकेको छ।” बोन्सामको पछिल्लो अभिव्यक्तिले फुटबल समर्थकमाझ फेरि बहस सुरु भएको छ। विगतदेखि नै उनले फुटबल नतिजालाई आध्यात्मिक शक्तिसँग जोड्दै आएका छन्।

ह्यारी केनबारे के भनेका थिए ?

घानाविरुद्धको विश्वकप खेलअघि बोन्सामले इङ्ल्यान्डका कप्तान ह्यारी केनलाई रोक्न आफूले विशेष ‘काम गरिरहेको’ बताएका थिए। डेली स्टारसँगको अन्तर्वार्तामा उनले भनेका थिए, “मैले पहिले पनि के गर्न सक्छु भनेर देखाइसकेको छु। त्यसैले उनलाई रोक्न मैले के गर्नुपर्छ भन्ने मलाई थाहा छ।”

त्यसपछि इङ्ल्यान्ड र घानाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि सामाजिक सञ्जालमा बोन्सामका टिप्पणीहरू व्यापक रूपमा चर्चामा आएका थिए। यद्यपि उनले पछि ह्यारी केनप्रति कुनै व्यक्तिगत शत्रुता नरहेको बताएका छन्। “ह्यारी केन मेरो शत्रु होइनन्। मेरो एउटा बच्चा छ, जसको नाम म चाँडै ह्यारी केनको नामबाट राख्नेछु,” उनले भने।

उनले फेसबुकमार्फत अर्को सन्देश पनि दिएका थिए, जसमा केनलाई ‘मुक्त’ गरिदिने र उनले आगामी खेलमा गोल गर्ने बताएका थिए।

को हुन् नाना क्वाकु बोन्साम ?

नाना क्वाकु बोन्साम घानाका सबैभन्दा विवादास्पद सार्वजनिक व्यक्तित्वमध्ये एक मानिन्छन्। उनले राजधानी अक्रामा तीनवटा मन्दिर (श्राइन) सञ्चालन गर्छन् र आफूलाई अफ्रिकी परम्परागत पुजारी तथा जडीबुटी चिकित्सकको रूपमा परिचय दिन्छन्।

उनी सन् २०१४ को विश्वकपमा पनि चर्चामा आएका थिए, जब उनले पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई चोटग्रस्त बनाउन आफूले आध्यात्मिक शक्ति प्रयोग गरेको दाबी गरेका थिए। यद्यपि उनका कुनै पनि आध्यात्मिक दाबीहरू प्रमाणित भएका छैनन्।