महासंघ मलेसियाकी कोषाध्यक्ष थापाको बिदाइ सम्पन्न, विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने।

क्वालालम्पुर  (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ, प्रवास शाखा मलेसियाले आगामी ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिक उत्सवलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यले तयारी बैठक सम्पन्न गरेको छ।

आईतवार क्वालालम्पुर कोतारायामा बसेको बैठकमा कार्यक्रमको समग्र तयारी, व्यवस्थापन तथा सफल आयोजनाका लागि आवश्यक विभिन्न विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरिएको जनाइएको छ।

बैठकमा सहभागी पदाधिकारी, सदस्य तथा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरूले विश्व आदिवासी दिवसलाई प्रवासी नेपाली समुदायमाझ एकता, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा उत्सवका रूपमा मनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै कार्यक्रमलाई सफल बनाउन सबै पक्षबीच आपसी सहकार्य, समन्वय र सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो। त्यस्तै आगामी विश्व आदिवासी दिवस तथा वार्षिक उत्सवलाई प्रवासी नेपाली समुदायका लागि स्मरणीय र उदाहरणीय कार्यक्रमका रूपमा सम्पन्न गर्ने साझा प्रतिबद्धता दोहोर्याइएको थियो।

यसैबीच महासंघ मलेसियाकी कोषाध्यक्ष अनिता थापाको बिदाइ कार्यक्रम पनि सम्पन्न गरिएको छ। उहाँको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गर्दै संस्था र आदिवासी जनजाति समुदायप्रति उहाँले पुर्‍याउनुभएको समर्पित योगदानको उच्च सम्मानसहित हार्दिक बिदाइ गरिएको महासंघले जनाएको छ।

मलाया खबर परिवारले पनि आगामी ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिक उत्सवको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण आयोजक, स्वयंसेवक, सहयोगी संस्था तथा समुदायप्रति अग्रिम धन्यवाद ज्ञापन गरेको छ।