क्वालालम्पुरमा अध्यागमन विभागको ‘अप्स कुटिप’ छापा, नेपालीसहित १८६ अवैध आप्रवासी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको संघीय राजधानी क्वालालम्पुरस्थित अध्यागमन विभाग (JIM) ले पुडु क्षेत्रका विभिन्न परिसरमा मध्यरातदेखि विशेष ‘अप्स कुटिप’ अभियान सञ्चालन गर्दै १८६ जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ।

गत बिहीबार राति १२ः०५ बजेदेखि सुरु भएको उक्त संयुक्त कारबाहीमा विभिन्न सरकारी निकायका १३७ जना अधिकारी तथा सुरक्षाकर्मी सहभागी थिए। अभियानमा क्वालालम्पुर, सेलाङ्गोर र पुत्राजायास्थित अध्यागमन विभागका अधिकारीहरूका साथै प्रहरी, क्वालालम्पुर सिटी हल (DBKL) र राष्ट्रिय दर्ता विभाग (JPN) का प्रतिनिधिहरू सहभागी भएका थिए।

कारबाहीका क्रममा विभिन्न देशका ३२० जनाको कागजात तथा परिचय जाँच गरिएको थियो। जसमध्ये १४९ पुरुष र ३७ महिलासहित कुल १८६ जना अवैध आप्रवासी (PATI) पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा ११८ जना बंगलादेशी, २८ जना इन्डोनेसियाली, २६ जना म्यान्माली, ५ जना भियतनामी, ४ जना नेपाली, २ जना भारतीय, १ जना पाकिस्तानी तथा २ जना चिनियाँ नागरिक रहेका छन्।

अध्यागमन विभागका अनुसार पक्राउ परेकाहरूले वैध राहदानी वा पहिचानपत्रबिना मलेसियामा बसोबास गरेको तथा भिसा अवधि समाप्त भएपछि पनि देशमा अवैध रूपमा बसिरहेको आशंकामा अध्यागमन ऐन १९५९/६३ अन्तर्गत अनुसन्धान भइरहेको छ।

अध्यागमन विभागले राजधानी क्षेत्रमा बढ्दो अवैध आप्रवासी समस्यालाई नियन्त्रण गर्न तथा राष्ट्रिय सुरक्षा र सार्वभौमिकता कायम राख्न यस्ता अभियान निरन्तर सञ्चालन गरिने जनाएको छ।

news and photo source : jabatan imigresen malaysia