फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, विजयी लयमा पाँचपटकको च्याम्पियन।

एजेन्सी := पाँच पटकको विश्वकप विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा हाइटीलाई ३–० गोलले पराजित गर्दै ब्राजिलले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको हो ।

खेलभरि दबाब कायम राखेको ब्राजिलका लागि म्याथियस कुन्हा नायक बन्नुभयाे । उहाँले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिनुभयो । ब्राजिलका अर्का स्टार फरवार्ड भिनिसियस जुनियरले एक गोल थप्दै टोलीको जित सुनिश्चित गर्नुभयो ।

सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको ब्राजिलले बल नियन्त्रण र आक्रमण दुवैमा स्पष्ट वर्चस्व कायम राखेको थियो। हाइटीले केही अवसर सिर्जना गरे पनि ब्राजिलको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन । पहिलो जितसँगै ब्राजिलले समूह चरणमा आफ्नो सम्भावनालाई थप बलियो बनाएको छ।

उपाधि दाबेदारका रूपमा मैदान उत्रिएको ब्राजिलले यस प्रदर्शनबाट समर्थकलाई उत्साहित बनाएको छ । यता, लगातार दबाबमा परेको हाइटी भने अंकविहीन रहँदै आगामी खेलमा पुनरागमनको लक्ष्यसहित मैदान उत्रिनेछ ।