जोहोरबाहरु (मलेसिया):= मलेसियाको जोहोर राज्य अध्यागमन विभागले जोहोर बाहरु क्षेत्रमा सञ्चालन गरेको विशेष “Ops Sapu” कारबाहीका क्रममा विभिन्न अध्यागमन कसुरमा ७३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
अध्यागमन विभागका अनुसार राति करिब ११ बजे सञ्चालन गरिएको उक्त कारबाहीमा अवैधानिक आप्रवासी (PATI) बसोबास गरिरहेको आशंकामा विभिन्न घर तथा पसल परिसरमा छापा मारिएको थियो।
छापाका क्रममा केही विदेशी नागरिकले भाग्ने प्रयास गरेका थिए भने केही व्यक्ति ओछ्यानमुनि तथा साँघुरा कोठामा लुकेर पक्राउबाट बच्न खोजेका थिए। तर सुरक्षाकर्मीले सबैलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

पक्राउ पर्नेहरूमा इन्डोनेसिया, म्यानमार, बंगलादेश र भारतका नागरिक रहेका छन्। उनीहरूमध्ये पुरुष, महिला तथा बालबालिका समेत समावेश छन्।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकामध्ये अधिकांशसँग वैध यात्रा कागजात नभएको तथा अनुमति प्राप्त अवधिभन्दा बढी समय मलेसियामा बसोबास गरेको पाइएको छ। पक्राउ परेकाहरूको उमेर १० महिनादेखि ४० वर्षसम्म रहेको बताइएको छ।
सबैलाई थप अनुसन्धानका लागि सेतिया ट्रोपिका अध्यागमन डिपो मा राखिएको छ। उनीहरूमाथि मलेसिया अध्यागमन ऐन १९५९/६३ अन्तर्गत कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

जोहोर अध्यागमन विभागले देशमा अवैधानिक आप्रवासन नियन्त्रण गर्न यस्ता कारबाहीलाई निरन्तरता दिने जनाएको छ। साथै, शंकास्पद गतिविधिबारे जानकारी भए सम्बन्धित निकायलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।




















