मिस नेपाल २०२६ को ग्रान्ड फिनाले अगस्ट १ तारिख।

काठमाडौं:= मिस नेपाल २०२६ को आधिकारिक कार्यक्रम तालिका सार्वजनिक गरिएको छ । आयोजकले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता आगामी २३ जुनदेखि सुरु भई १ अगस्टमा हुने ग्रान्ड फिनालेसँगै सम्पन्न हुनेछ ।

कार्यक्रमको सुरुवात २३ जुनमा ‘स्यास सेरेमोनी’मार्फत हुनेछ। उक्त समारोहमा अडिशनबाट छनोट भएका २४ जना फाइनलिष्टको घोषणा गरिनुका साथै उनीहरूलाई प्रतियोगी नम्बर (स्यास) वितरण गरिने जनाइएको छ ।

तालिका अनुसार २७ जुनमा स्पोर्ट्स कम्पिटिसन, ३ जुलाईमा ग्रीन समिट तथा ४ जुलाईमा स्विमसुट इभेन्ट आयोजना गरिनेछ । त्यसैगरी ११ जुलाईमा टप मोडल कम्पिटिसन र १३ जुलाईमा हेड-टु-हेड च्यालेन्ज प्रतिस्पर्धा हुने तय गरिएको छ ।

प्रतियोगिताको महत्त्वपूर्ण चरणका रूपमा २९ जुलाईमा प्रिलिमिनरी कम्पिटिसन आयोजना गरिनेछ भने १ अगस्टमा ग्राण्ड फिनाले सम्पन्न हुनेछ । आयोजकका अनुसार यसवर्ष मिस नेपाल-२०२६ अन्तर्गतका सम्पूर्ण कार्यक्रम ललितपुरस्थित द प्लाजामा आयोजना हुनेछन् ।

प्रतियोगितामार्फत आगामी मिस नेपालको ताजका लागि प्रतिस्पर्धा गर्ने फाइनलिष्टहरूले विभिन्न विधाका चुनौती र प्रतिस्पर्धामा सहभागिता जनाउनेछन् ।