मलेसियाको १५ वटा स्थानीय क्षेत्रमा AI प्रविधियुक्त सीसीटीभी जडान, सुरक्षा थप कडा हुने।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले आधुनिक अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षालाई थप सुदृढ बनाउन देशका १५ वटा स्थानीय निकायअन्तर्गतका संवेदनशील क्षेत्रमा अत्याधुनिक सीसीटीभी क्यामरा जडान गर्ने योजना अघि बढाएको छ। यस परियोजनाका लागि सरकारले ५० लाख मलेसियन रिंगिट बजेट विनियोजन गरेको छ।

आवास तथा स्थानीय सरकार मन्त्री Nga Kor Ming का अनुसार नयाँ जडान गरिने क्यामराहरू आर्टिफिसियल इन्टेलिजेन्स (AI)अनुहार पहिचान (Facial Recognition) प्रविधियुक्त हुनेछन्। ती क्यामराहरू विशेषगरी अपराधको जोखिम बढी भएका तथा भीडभाड हुने सार्वजनिक स्थानहरूमा राखिनेछन्।

सरकारका अनुसार नयाँ प्रविधिले शङ्कास्पद गतिविधि तथा व्यक्तिहरूको छिटो पहिचान गर्न मद्दत गर्नेछ, जसले अपराध रोकथाम र अनुसन्धान दुवैलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सुरक्षा निकायहरूले यसलाई आधुनिक सुरक्षा व्यवस्थाको महत्वपूर्ण उपकरणका रूपमा लिएका छन्।

विज्ञहरूका अनुसार अपराधका स्वरूप दिनप्रतिदिन जटिल बन्दै गइरहेका बेला गुणस्तरीय निगरानी प्रणालीको आवश्यकता बढेको छ। AI प्रविधियुक्त सीसीटीभीले सुरक्षाकर्मीका लागि “तेस्रो आँखा” को रूपमा काम गर्दै अपराध हुनुअघि नै जोखिम पहिचान गर्न र घटना भइसकेपछि प्रमाण संकलन तथा अनुसन्धानलाई तीव्र बनाउन सहयोग पुर्‍याउनेछ।

मलेसिया सरकारको यो पहलले देशभर सार्वजनिक सुरक्षाको स्तर उकास्ने, अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने तथा नागरिकहरूमा सुरक्षाको अनुभूति अझ मजबुत बनाउने विश्वास गरिएको छ।