क्वालालम्पुर (मलेसिया):= मलेसियाभर पाँच दिनसम्म सञ्चालन गरिएको अध्यागमन कारबाहीमा ४७१ जना विदेशी नागरिक पक्राउ परेका छन्।
अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबान का अनुसार जुन ८ देखि १२ सम्म देशभर १७९ वटा अपरेसन सञ्चालन गरिएको थियो। निरीक्षणका क्रममा अध्यागमन ऐन १९५९/६३ र सम्बन्धित नियम उल्लङ्घन गरेको आरोपमा ४७१ जना अवैध आप्रवासीलाई नियन्त्रणमा लिइएको हो।
यसैबीच, अध्यागमन अपराधमा संलग्न विदेशीलाई रोजगार दिएको वा आश्रय दिएको आरोपमा ३१ जना रोजगारदाता पनि अनुसन्धानका लागि पक्राउ परेका छन्। जकारियाले हरेक पास र भिजाको निश्चित उद्देश्य र सर्त हुने भएकाले त्यसको दुरुपयोग, अनधिकृत काम वा अवैध व्यवसाय सञ्चालन गर्नु कानुनविपरीत रहेको बताए।
उनले अवैध व्यवसाय, पास दुरुपयोग तथा अनुमति बिना काम गर्ने विदेशीविरुद्ध देशभर कारबाही अझ तीव्र बनाइने जानकारी दिए। साथै, अध्यागमन कानुन उल्लङ्घन गर्ने विदेशीबारे सूचना दिन सर्वसाधारणसँग सहयोगको अपिल पनि गरेका छन्।




















