मलेसियामा विदेशीद्वारा गैरकानुनी रूपमा सञ्चालित व्यवसायमाथि कारबाही, हजारौं लाइसेन्स खारेज।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले गैरकानुनी रूपमा विदेशी नागरिकहरूद्वारा सञ्चालन गरिएका व्यवसायहरू विरुद्ध देशव्यापी रूपमा कडा अभियान सञ्चालन गर्दै यस वर्षको मे महिनासम्म करिब २६,००० व्यावसायिक अनुमति पत्र (लाइसेन्स) खारेज गरेको जनाएको छ।

मलेसियाका Nga Kor Ming का अनुसार स्थानीय निकायहरूले देशभरि ४,००० भन्दा बढी विशेष अपरेसन सञ्चालन गरी नियमविपरीत सञ्चालित व्यवसायहरूको लाइसेन्स रद्द गरेका हुन्।

मलेसियाको स्थानीय सरकारसम्बन्धी नियमअनुसार खुद्रा व्यापार, साना पसल, वर्कसप तथा सडक स्टलजस्ता साना व्यवसायहरूमा विदेशी नागरिकहरूले कामदारका रूपमा मात्र काम गर्न पाउँछन्। यस्ता व्यवसायको स्वामित्व वा सञ्चालन गर्ने अधिकार भने उनीहरूलाई छैन।

सरकारको अनुसन्धानमा केही मलेसियाली नागरिकहरूले आफ्नो नाममा लाइसेन्स लिएर विदेशीहरूलाई भाडामा दिने वा व्यवसाय सञ्चालन गर्न दिने गरेको पाइएको छ। मन्त्री ङ्गाले यस्ता गतिविधिमा संलग्न स्थानीय नागरिकमाथि पनि कडा कारबाही गरिने र उनीहरूको लाइसेन्स स्थायी रूपमा ब्ल्याकलिस्ट गरिने चेतावनी दिएका छन्।

यसअघि मलेसियाको प्रधानमन्त्री दातोक श्री अनवर ईब्राहिमले पनि सबै सरकारी निकायहरूलाई गैरकानुनी आप्रवासी तथा विदेशीहरूद्वारा अनधिकृत रूपमा सञ्चालन भइरहेका व्यवसायहरू विरुद्ध संयुक्त रूपमा कडा कदम चाल्न निर्देशन दिएका थिए।

मलेसिया सरकारले आगामी दिनहरूमा समेत अनुगमन र कार्यान्वयनलाई अझ प्रभावकारी तथा कडा बनाउने स्पष्ट गरेको छ।