पेतालिङ जया (मलेसिया):= मलेसियाको कर्मचारी सञ्चय कोष (Employees Provident Fund-EPF/KWSP) ले देशभर सञ्चालनमा रहेका आफ्ना सबै रेमिटेन्स (भुक्तानी) काउन्टरहरू आगामी जुलाई १, २०२६ देखि बन्द गर्ने घोषणा गरेको छ।
बिहीबार (जुन ११) जारी गरिएको विज्ञप्तिमा EPF ले सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित तथा डिजिटल माध्यममैत्री बनाउन यो निर्णय गरिएको जनाएको छ। यद्यपि, अन्य सेवा काउन्टरहरू भने हालकै व्यवस्थाअनुसार सञ्चालनमा रहने बताइएको छ।
EPF का अनुसार भुक्तानी काउन्टर बन्द भए पनि सदस्य तथा रोजगारदाताहरूले योगदान रकम बुझाउन कुनै समस्या हुने छैन। सदस्यहरूले EPF को i-Akaun एप, इन्टरनेट बैंकिङ, बैंक एजेन्ट काउन्टर, सेल्फ–सर्भिस टर्मिनल (SST), मोबाइल KWSP टोली तथा रिलेसनसिप एड्भाइजरी (RA) सेवामार्फत सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।
त्यसैगरी, रोजगारदाताहरूलाई योगदान रकम भुक्तानी प्रक्रिया अझ सहज र छिटो बनाउन i-Akaun (Employer) पोर्टल प्रयोग गर्न आग्रह गरिएको छ।
EPF ले रसीद (Receipting) काउन्टर बन्द भए पनि योगदान रकम बुझाउन विभिन्न वैकल्पिक माध्यम उपलब्ध गराइएको स्पष्ट पारेको छ। संस्थाका अनुसार डिजिटल सेवाको विस्तारसँगै सदस्य र रोजगारदाताहरूलाई अझ सुरक्षित, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको हो।
“EPF सदस्य तथा रोजगारदाताले सुरक्षित, सहज र प्रभावकारी माध्यममार्फत बिना अवरोध कारोबार गर्न सकून् भन्ने उद्देश्यले सेवा प्रवाहलाई निरन्तर सुधार गर्न हामी प्रतिबद्ध छौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
EPF को यो निर्णयसँगै आगामी जुलाई १ देखि सदस्य तथा रोजगारदाताहरूले भुक्तानीका लागि मुख्यतः डिजिटल र वैकल्पिक माध्यमहरूको प्रयोग गर्नुपर्नेछ।




















