क्वालालम्पुर:= विश्वप्रसिद्ध रियालिटी कुकिङ प्रतियोगिता ‘मास्टरसेफ युएस’ सिजन १६ मा मलेसियाको प्रतिनिधित्व गरिरहेकी २७ वर्षीया प्रतियोगी जेमी ट्यान ले उल्लेखनीय सफलता हासिल गरेकी छन्। उनले शोको ‘वर्ल्ड कप कुकअफ’ चरणमा मलेसियाको लोकप्रिय परिकार रोटी चन्ई (Roti Canai) तयार गरी विशेष उपाधि जित्न सफल भएकी हुन्।
प्रतियोगितामा खेल हेर्दै खान मिल्ने उत्कृष्ट खाजा तयार गर्न प्रतियोगीहरूलाई ६० मिनेटको समय दिइएको थियो। सामान्यतया रोटी चन्ई र यसको करी तयार गर्न लामो समय लाग्ने भए पनि जेमीले निर्धारित समयभित्रै उत्कृष्ट स्वाद र प्रस्तुति सहितको परिकार तयार पारेर निर्णायकहरूको मन जितिन्।
विश्वप्रसिद्ध शेफ तथा निर्णायक गर्डन र्याम्से ले जेमीको करीको प्रशंसा गर्दै भने, “यो करी यति स्वादिलो र सुगन्धित छ कि लाग्छ, तिमीले यसलाई ६ घण्टादेखि पकाइरहेकी छौ।”
जेमीका अनुसार उनले यो परिकार बनाउने कला आफ्ना मलेसियन बुवाबाट सिकेकी हुन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत उनले २,५०० अमेरिकी डलरको गिफ्ट कार्ड प्राप्त गरिन् भने आफ्नो सम्पूर्ण टिमका लागि सुरक्षित रहने ‘इम्युनिटी पिन’ समेत जितिन्।
जेमीको यो उपलब्धिपछि मलेसियाली समुदायमा खुशीको लहर छाएको छ। उनको प्रस्तुति र भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ भने धेरैले यसलाई मलेसियाली खानाको अन्तर्राष्ट्रिय पहिचान बढाउने महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।




















