विश्व फुटबलको सबैभन्दा ठूलो फुटबल महोत्सव “फिफा विश्वकप २०२६” को महाकुम्भ सुरु हुँदै।

अमेरिका:= विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ आज (बिहीबार) मध्यरातिदेखि औपचारिक रूपमा सुरु हुँदै छ । करिब एक शताब्दी लामो विश्वकप इतिहासमा पहिलो पटक तीन राष्ट्र मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दै छन् ।

विश्वभरका करोडौँ फुटबल समर्थकको प्रतीक्षा अन्त्य गर्दै प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ भने उपाधि भिडन्त जुलाई १९ मा अमेरिकाको न्यु जर्सीमा खेलाइनेछ । यसपटकको विश्वकप धेरै दृष्टिले ऐतिहासिक छ । पहिलो पटक ४८ राष्ट्र सहभागी छन् भने प्रतियोगिताभर १६ आयोजक सहरमा कीर्तिमानी १०४ खेल खेलाइनेछन् ।

प्रतियोगिताको विस्तारित स्वरूपले विश्व फुटबललाई थप समावेशी बनाएको छ । टोलीहरूलाई १२ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानका आठ टोली अन्तिम ३२ मा पुग्नेछन्।

विश्वकपको सुरुवातसँगै तीन आयोजक राष्ट्रमा भव्य उद्घाटन समारोह आयोजना गरिनेछ । मेक्सिको सिटी, टोरण्टो र लस एण्जलसमा हुने कार्यक्रमहरू एउटै साझा विषय ‘फुटबलले विश्वलाई जोड्छ’मा आधारित रहनेछन् । मेक्सिकोले आफ्नो परम्परागत ‘पापेल पिकाडो’ कला र सांस्कृतिक प्रस्तुतिमार्फत विश्वलाई स्वागत गर्नेछ ।

क्यानडाले आफ्नो बहुसांस्कृतिक पहिचान प्रस्तुत गर्नेछ भने अमेरिकाले आधुनिक प्रविधि, मनोरञ्जन र दृश्य प्रभावमार्फत समारोहलाई भव्य बनाउने तयारी गरेको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार यी समारोहले संगीत, संस्कृति र फुटबललाई एकै ठाउँमा ल्याउँदै विश्वव्यापी उत्सवको सन्देश दिनेछन् ।

उपाधि दौडमा को अगाडि ?

दुई पटकको विश्वविजेता फ्रान्स र अर्जेन्टिना, सन् २०१० को च्याम्पियन स्पेन, पाँच पटकको विजेता ब्राजिल तथा उपाधिविहीन तर बलियो दाबेदार इंग्ल्याण्डलाई यस संस्करणका प्रमुख प्रतिस्पर्धी मानिएको छ । फ्रान्ससँग किलियन एम्बाप्पे जस्ता विश्वस्तरीय स्टार हुनुहुन्छ भने स्पेनले युवा सनसनी लामिन यामलमाथि ठूलो भरोसा गरेको छ ।

ब्राजिल आफ्नो दुई दशक लामो उपाधि खडेरी अन्त्य गर्दै छैटौँ विश्वकप जित्ने लक्ष्यमा छ । यस विश्वकपमा किलियन एम्बाप्पे र लामिन यामल सबैभन्दा बढी चर्चा गरिएका खेलाडी हुनुहुन्छ । यद्यपि, फुटबल समर्थकको विशेष चासो भने अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोतर्फ रहनेछ ।

दुई दशकभन्दा बढी समय विश्व फुटबलमा प्रभुत्व जमाउनुभएका यी दुई महान् खेलाडीका लागि यो अन्तिम विश्वकप हुनसक्ने अनुमान गरिएको छ । त्यसैले उहाँहरूको प्रत्येक प्रदर्शन भावनात्मक र ऐतिहासिक दुवै दृष्टिले महत्त्वपूर्ण हुनेछ ।

पहिलो पटक विश्वकप खेल्ने राष्ट्र

विश्वकपको विस्तारित ढाँचाले केही नयाँ राष्ट्रलाई अवसर दिएको छ । कुरासाओ, केप भर्डे, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका छन् । विशेषगरी करिब एक लाख ५६ हजार जनसंख्या भएको कुरासाओ विश्वकपमा छनोट हुने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको छ । यी टोलीहरूको सहभागिताले विश्व फुटबलको बढ्दो पहुँच र विविधतालाई झल्काएको छ ।

रोचक प्रतिस्पर्धा

विश्वकपमा केही खेलहरू खेलभन्दा बाहिरका कारणले पनि विशेष महत्त्वका छन् । फ्रान्स र सेनेगलबीचको भेट औपनिवेशिक इतिहाससँग जोडिएको छ भने घाना र इंग्ल्याण्डबीचको खेलले ऐतिहासिक सम्बन्धलाई पुनः स्मरण गराउनेछ । त्यसैगरी, इरान र इजिप्टबीचको खेल सामाजिक तथा राजनीतिक बहसका कारण अन्तर्राष्ट्रिय चासोको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।

तीन राष्ट्रको संयुक्त आयोजना, ४८ टोलीको सहभागिता, १०४ खेल र नयाँ ढाँचासहित सुरु हुन लागेको विश्वकप २०२६ केवल फुटबल प्रतियोगिता मात्र होइन, विश्वव्यापी सांस्कृतिक उत्सव पनि हो । आगामी एक महिनाभन्दा बढी समय विश्वको ध्यान उत्तर अमेरिकातर्फ केन्द्रित रहनेछ, जहाँ नयाँ इतिहास लेखिनेछ र सम्भवतः केही महान् खेलाडीहरूले आफ्नो अन्तिम विश्वकप यात्रा पूरा गर्नेछन् । (एजेन्सीको सहयोगमा)