क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरमा अध्यागमन विभाग इमिग्रेशन र विभिन्न सरकारी निकायको संयुक्त टोलीले सञ्चालन गरेको “इन्टिग्रेटेड अप्स क्वालालम्पुर” अन्तर्गत व्यापक अनुगमन तथा छापामार कारबाही गरिएको छ।
कारबाहीका क्रममा विभिन्न कानुनी उल्लङ्घनमा संलग्न रहेको आशंकामा २९ जनालाई पक्राउ गरिएको छ। साथै, सम्बन्धित निकायहरूले १४ वटा व्यावसायिक तथा आवासीय परिसरमा छापा मारेर कागजात जाँच, अनुमति पत्र प्रमाणीकरण तथा नियम उल्लङ्घनसम्बन्धी अनुसन्धान अघि बढाएका छन्।
अधिकारीहरूका अनुसार यो अभियान अवैध आप्रवासन, बिना अनुमति व्यवसाय सञ्चालन, श्रम कानुन उल्लङ्घन तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। छापामार कारबाहीमा अध्यागमन विभाग, स्थानीय निकाय, प्रहरी तथा अन्य सम्बन्धित सरकारी एजेन्सीहरूको सहभागिता रहेको थियो।
अधिकारीहरूले कानुन विपरीत गतिविधिमा संलग्न व्यक्ति तथा व्यवसायमाथि आगामी दिनमा पनि यस्ता संयुक्त अभियानलाई निरन्तरता दिइने बताएका छन्।




















