गृहमन्त्रीमा सुधन गुरुङलाई पुनः जिम्मेवारी दिइने, आजै शपथको तयारी।

काठमाडौं := गृहमन्त्रीमा सुधन गुरुङलाई पुनः जिम्मेवारी दिइने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई गृहमन्त्री बनाउने निर्णय लिएका हुन् । प्रधानमन्त्री शाहले गुरुङलाई मंगलबार नै गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । मंगलबार ३ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्रीमा गुरुङलाई नियुक्ति गरेर शपथको कार्यक्रम तय भएको छ। सांसद सुधन गुरुङको सम्पत्ति विवरण सम्बन्धी विवादबारे गठित छानबिन समितिले उनीमाथि कुनै गम्भीर गल्ती वा अनियमितता नभेटिएको निष्कर्ष पनि निकालेको छ। समितिले २२ जेठमा प्रधानमन्त्रीसमक्ष बुझाएको प्रतिवेदनमा व्यक्तिको भन्दा पनि प्रणालीगत कमजोरी र सुधार गर्नुपर्ने पक्षहरू औंल्याएको जनाएको छ।

समिति स्रोतका अनुसार गुरुङको नाममा धनकुटामा रहेको १९ रोपनी १५ आना जग्गाबाहेक अन्यत्र व्यक्तिगत स्वामित्वको जग्गा फेला परेको छैन। उनले सम्पत्ति विवरणमा बुवा तथा हजुरबुवाको नाममा रहेका सम्पत्तिहरू समेत समावेश गरेकाले विवरणमा केही फरक देखिएको प्रतिवेदनमा उल्लेख छ।

गुरुङले गोरखा, चितवन र धनकुटामा जग्गा रहेको जानकारी दिएका थिए। यस सम्बन्धमा मालपोत कार्यालयबाट समेत विवरण मगाई छानबिन गरिएको थियो। समितिले चितवन र गोरखामा उल्लेखित अधिकांश जग्गा परिवारका अन्य सदस्यहरूको नाममा रहेको पाएको जनाएको छ।

प्रतिवेदनले सम्पत्ति विवरण पेश गर्ने प्रक्रियालाई अझ स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सुधारका सुझावसमेत दिएको छ। छानबिनपछि गुरुङमाथि उठाइएका शंकाहरू पुष्टि हुने आधार नदेखिएको समितिको निष्कर्ष रहेको स्रोतले जनाएको छ।