काठमाडौं := फिफा विश्वकप फुटबल -२०२६ प्रतियोगिता अवलोकनका लागि अमेरिका हुँदै मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।
सोमबार बिहान विदेश प्रस्थान गर्ने क्रममा अध्यागमन अधिकारीहरूले उनीहरूको यात्रा रोकेका हुन्। अध्यागमन स्रोतका अनुसार दुवै जना कालोसूचीमा रहेकाले विदेश जान अनुमति नदिइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले दुवै जना विदेश यात्रामा रोक सूचीमा रहेको जानकारी दिँदै विमानस्थलबाट फर्काइएको पुष्टि गरेका छन्।
यसअघि आर्थिक अनियमिततासम्बन्धी छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो।
विश्वकप हेर्न जाने योजनासहित विदेश यात्रा गर्न लागेको अवस्थामा प्रतिबन्ध हटाइदिन आग्रह गर्दै एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए। तर राखेपले विदेश यात्रा खुला गर्ने माग अस्वीकार गरेपछि उनीहरूको यात्रा प्रभावित भएको हो।




















