क्वालालम्पुर (मलेसिया):= आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै हुन सक्ने अवैध अनलाइन खेल सट्टेबाजी (Sports Betting) तथा जुवातासका गतिविधिविरुद्ध मलेसियाली प्रहरी (PDRM) ले देशव्यापी रूपमा कडा निगरानी र कारबाहीको तयारी गरेको छ।
विश्वकप फुटबल प्रतियोगिताका दौरान सट्टेबाजी सम्बन्धी गतिविधिहरू उल्लेखनीय रूपमा बढ्ने अनुमान गर्दै प्रहरीले विशेष अभियान ‘अप सोगा’ (Op Soga) सञ्चालन गर्ने जनाएको छ।
प्रहरीका अनुसार हाल मलेसियामा हुने ९० प्रतिशतभन्दा बढी अवैध सट्टेबाजी डिजिटल प्लेटफर्म, मोबाइल एप तथा अनलाइन नेटवर्कमार्फत गोप्य रूपमा सञ्चालन हुने गरेको छ। यसलाई नियन्त्रण गर्न प्रहरीले मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोग (MCMC) सँग सहकार्य गर्दै अवैध सट्टेबाजी सञ्चालन गर्ने वेबसाइट तथा डिजिटल प्लेटफर्महरू तत्काल ब्लक गर्ने तयारी गरेको छ।
त्यसैगरी, प्रहरीले सामाजिक सञ्जालका चर्चित व्यक्तित्व (Influencers) तथा धेरै फलोअर्स भएका प्रयोगकर्ता हरूलाई अवैध जुवा तथा सट्टेबाजी प्लेटफर्महरूको विज्ञापन, प्रवर्द्धन वा प्रचारप्रसार नगर्न कडा चेतावनी दिएको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम वा अन्य डिजिटल माध्यमबाट यस्ता गतिविधिको प्रचार गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि पनि कानुनअनुसार कडा कारबाही गरिने बताइएको छ।
मलेसियाली अधिकारीहरूले अवैध सट्टेबाजीले आर्थिक अपराध, ठगी तथा सामाजिक समस्या बढाउने भएकाले यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताएका छन्। मलेसियामा बसोबास तथा रोजगारी गरिरहेका सम्पूर्ण नेपाली समुदायलाई पनि यस्ता अवैध अनलाइन जुवा, खेल सट्टेबाजी तथा त्यसको प्रचारप्रसारबाट टाढा रहन र कानुनी झमेलाबाट बच्न आग्रह गरिएको छ।




















