जोहोरमा ईमिग्रेशनको संयुक्त छापा : ७२ विदेशी कामदार पक्राउ।

जोहोर (मलेसिया):= मलेसियाको जोहोर राज्य अध्यागमन विभाग (JIM) ले गत शुक्रबार राति सञ्चालन गरेको संयुक्त अपरेशनमा विभिन्न अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा ७२ जना विदेशी कामदारलाई पक्राउ गरेको छ।

जोहोर अध्यागमन निर्देशक Mohd Rusdi Mohd Darus का अनुसार राति ८ बजेदेखि सुरु भएको उक्त अपरेशनमा सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सी (AKPS) र मलेसिया शाही भन्सार विभाग (JKDM) का अधिकारीहरू पनि सहभागी थिए।

पक्राउ परेकामध्ये १७ जना म्यानमारका पुरुष, १४ जना इन्डोनेसियाली (४ पुरुष र १० महिला), ४० जना भियतनामी (३ पुरुष र ३७ महिला) तथा १ जना चिनियाँ महिला रहेका छन्। उनीहरू रेस्टुरेन्टमा वेटर तथा भान्से (कुक) को रूपमा कार्यरत रहेको र उमेर १९ देखि ४६ वर्षबीच रहेको बताइएको छ।

 

अध्यागमन विभागले कामदार र रोजगारदातामाथि विस्तृत जाँच गर्दा वैध अनुमति बिना काम गर्ने तथा सामाजिक भ्रमण पासको दुरुपयोग गर्ने व्यक्तिहरू फेला परेको जनाएको छ।

पक्राउ परेका सबैलाई अध्यागमन ऐन १९५९/६३ तथा अध्यागमन नियमावली १९६३ अन्तर्गत अनुसन्धानका लागि जोहोरस्थित सेतिया ट्रोपिका अध्यागमन डिपो मा राखिएको छ। साथै अनुसन्धानमा सहयोगका लागि पाँचवटा साक्षी समन (Form 29) समेत जारी गरिएको छ।

अध्यागमन विभागले यस्ता संयुक्त कारबाहीहरू देशको सुरक्षा मजबुत बनाउन, सार्वजनिक शान्ति कायम राख्न तथा कानुनको शासन सुनिश्चित गर्न निरन्तर जारी रहने जनाएको छ।

स्रोत: बर्नामा / इमिग्रेशन मलेसिया