धादिङ:= सभामुख डोलप्रसाद अर्याल ले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्किने तयारी गर्न आग्रह गर्दै नेपाल अब समृद्धि, सुशासन र स्थायित्वतर्फ अघि बढिरहेको बताएका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित नृसिंहधाम मा आयोजित एक महिने पुरुषोत्तम महोत्सवको अवलोकनका क्रममा बोल्दै सभामुख अर्यालले नेपाललाई नेपाली नागरिकका लागि बस्न योग्य, सुरक्षित र सम्मानजनक देश बनाउने दिशामा राज्य अघि बढिरहेको बताए।
उनले विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै भने, “तमाम दिदीबहिनी तथा दाजुभाइहरू साँच्चै नै नेपाल फर्किने तयारी गर्नुस्। यो देश बन्छ, समृद्ध हुन्छ। यहाँ सुशासन कायम हुन्छ र भ्रष्टाचार अन्त्य हुने दिन टाढा छैन।”
सभामुख अर्यालले सबै धर्म र संस्कृतिलाई समान सम्मान गरिने उल्लेख गर्दै प्रत्येक नागरिकले आफ्नो धर्म स्वतन्त्र र सम्मानजनक रूपमा पालन गर्न पाउने वातावरण निर्माण हुँदै गएको बताए। साथै, नेपालीहरू आफ्नै परिवारसँग आफ्नै देशमा सुखपूर्वक बस्न पाउने समय नजिकिँदै गएको उनको विश्वास थियो।
उनले आफू जनताले चाहेजस्तो कानुन निर्माण गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे। समाज र देशको आवश्यकताअनुसार जनमुखी तथा व्यवहारिक कानुन निर्माण गर्नु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले आगामी केही वर्षभित्र नागरिकहरूले सकारात्मक परिवर्तनको अनुभूति गर्ने दाबी गरे।
सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार दृढ रहेको समेत स्पष्ट पारे। उनले सुशासन, पारदर्शिता र विकासमार्फत नागरिकमा नयाँ आशा जगाउने लक्ष्यसहित वर्तमान राजनीतिक नेतृत्व अघि बढिरहेको बताए।




















