क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूका लागि “Persatuan Industri Keselamatan Malaysia, PIKM” तालिमको महत्व पछिल्लो समय झन् बढ्दै गएको छ।
आधुनिक सुरक्षा प्रणाली, व्यावसायिक दक्षता र कार्यस्थलको अनुशासनलाई मध्यनजर गर्दै धेरै सुरक्षा कम्पनीहरूले गार्डहरूलाई ड्युटीअघि पिआईकेयम तालिम अनिवार्य गर्न थालेका छन्।
यो तालिममार्फत सुरक्षा गार्डहरूलाई प्रवेश नियन्त्रण (Access Control), गस्ती प्रणाली, घटना रिपोर्टिङ, आगलागी तथा आपतकालीन अवस्थाको व्यवस्थापन, ग्राहक सेवा र व्यावसायिक आचरण सम्बन्धी प्रशिक्षण प्रदान गरिन्छ।
साथै मलेसियाको सुरक्षा सम्बन्धी नियम तथा कानुनी प्रक्रियाबारे पनि जानकारी दिइन्छ।
विशेषगरी कन्डोमिनियम, रेसिडेन्सी, सपिङ मल तथा औद्योगिक क्षेत्रमा कार्यरत गार्डहरूले डिजिटल सुरक्षा प्रणाली, र आगन्तुक व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गर्नुपर्ने भएकाले पिआईकेयम तालिमलाई प्रभावकारी मानिएको छ।
सुरक्षा कम्पनीहरूका अनुसार तालिम प्राप्त गार्डहरू बढी अनुशासित, जिम्मेवार र दक्ष हुने भएकाले व्यवस्थापन तथा रेसिडेन्टहरूको विश्वास पनि बढ्ने गरेको छ। यसले नेपाली गार्डहरूको पेशागत छवि सुधार्न समेत सहयोग पुगेको बताइएको छ।
मलेसियामा नेपाली सुरक्षा गार्डहरूको संख्या उल्लेख्य रहेको अवस्थामा यस्तो तालिमले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सेवा प्रदान गर्न सक्षम बनाउने विश्वास गरिएको छ।




















