क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभागले कार्यविधि उल्लंघन, अधिकारको दुरुपयोग तथा “काउन्टर सेटिङ” जस्ता भ्रष्ट गतिविधिमा संलग्न ७७ जना अध्यागमन अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरेको जनाएको छ।
अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबानका अनुसार सन् २०२२ देखि हालसम्म ती अधिकारीहरूविरुद्ध कडा कारबाही गरिएको हो। उनले सन् २०२६ को मे महिनासम्म मात्रै थप ८ जना अधिकारीलाई जागिरबाट हटाइएको जानकारी दिएका छन्।
यसअघि सन् २०२२ देखि २०२५ सम्म ६९ जना अधिकारी बर्खास्त भएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार केही अधिकारीहरू एजेन्टहरूसँग मिलेर गैरकानुनी रूपमा विदेशी नागरिक भित्र्याउने, लागूऔषध तस्करीमा सहयोग गर्ने तथा अध्यागमन डिपोभित्र प्रतिबन्धित सामग्री पुर्याउने जस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ।
महानिर्देशक शाबानले विभागभित्र हुने भ्रष्टाचार र सेटिङ संस्कृतिविरुद्ध “शून्य सहनशीलता” नीति अपनाइएको स्पष्ट पार्दै नियमविपरीत काम गर्ने जो–कोहीमाथि कडा कारबाही जारी रहने चेतावनी दिएका छन्।
मलेसिया सरकारले अध्यागमन प्रणालीलाई पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउन आन्तरिक निगरानी तथा सुरक्षा प्रणाली थप कडाइका साथ लागू गरिरहेको जनाएको छ। पछिल्ला कारबाहीहरूले सरकारी निकायभित्र हुने भ्रष्टाचार नियन्त्रणतर्फ सरकार गम्भीर रहेको संकेत दिएको विश्लेषण गरिएको छ।




















