मलेसियाको कोतारायामा अवस्थित यौन अखडामा नेपाली पुरुषसहित २४ जना पक्राउ।

क्वालालम्पुर (मलेसिया):= क्वालालम्पुर कोताराया क्षेत्रमा सञ्चालन भएको अवैध यौन अखडामा मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले विशेष अपरेशन सञ्चालन गर्दै नेपालीसहित २४ विदेशी नागरिकलाई पक्राउ गरेको छ।

अध्यागमन विभागले “OPS Gegar” नामक विशेष अपरेशन अन्तर्गत १९ मे २०२६ दिउँसो ३:३० बजे जालान तुन सिउ सिन क्षेत्रमा रहेको चारतले पसल भवनमा छापा मारेको हो। अपरेशनमा PASTAK विशेष ट्याक्टिकल टोली, गुप्तचर तथा विशेष अपरेशन डिभिजन र क्वालालम्पुर नगरप्रहरी  (DBKL) का अधिकारीहरू पनि सहभागी थिए।

PASTAK टोलीले करिब एक महिनासम्म संकलन गरेको गोप्य सूचनाका आधारमा उक्त स्थानमा कारबाही गरिएको बताइएको छ। छापामार कारबाहीका क्रममा २९ जनालाई अनुसन्धानको दायरामा ल्याइएको थियो, जसमा २७ विदेशी र २ स्थानीय नागरिक रहेका थिए।

अनुसन्धानपछि २४ विदेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ९ इन्डोनेसियाली महिला, ७ बंगलादेशी महिला, ५ बंगलादेशी पुरुष तथा नेपाल, इन्डोनेसिया र म्यानमारका १/१ पुरुष नागरिक रहेका छन्। साथै थप अनुसन्धानका लागि २ स्थानीय पुरुष र ३ बंगलादेशी पुरुषलाई साक्षीका रूपमा समन जारी गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त गिरोहले विदेशी तथा स्थानीय ग्राहकलाई लक्षित गर्दै अवैध यौन सेवा सञ्चालन गरिरहेको खुलेको छ। भवनको तेस्रो र चौथो तलाबाट सञ्चालित गतिविधिमा “वन सट” अर्थात् १५ मिनेटको सेवाका लागि आरएम ८० देखि आरएम १२० सम्म शुल्क लिने गरिएको थियो।

महिलाहरूलाई दुई सिफ्टमा काम गराइने गरेको पनि खुलेको छ। पहिलो सिफ्ट बिहान १० बजेदेखि राति ८ बजेसम्म तथा दोस्रो सिफ्ट राति ८ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुने गरेको थियो।

अनुसन्धानमा गिरोहले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिएको पाइएको छ। भवनभित्रको व्यवस्थापन “क्याप्टेन” भनेर चिनिने एक विदेशी नागरिकले सम्हाल्ने गरेको थियो भने बाहिरी निगरानी “अबाङ लङ कावासन” नामले चिनिने स्थानीय व्यक्तिले गर्ने गरेको बताइएको छ। उनीहरूले ग्राहकको गतिविधिसँगै प्रहरीको निगरानीसमेत गरिरहेका थिए।

यसका साथै भवनमा सिसिटिभी क्यामेरा जडान गरिएको थियो भने कानुनी निकायको ध्यान छल्न भीडभाड हुने बस स्टेशन नजिक स्थान छनोट गरिएको अनुसन्धानबाट खुलेको छ। तर PASTAK टोलीले गिरोहको सुरक्षा प्रणाली भेद्दै महत्वपूर्ण सूचना संकलन गरी सफल अपरेशन सञ्चालन गरेको जनाएको छ।

छापामार कारबाहीका क्रममा “बुक ५५५”, कन्डम, लुब्रिकेन्ट तेल तथा सुरक्षा निगरानीमा प्रयोग गरिएका सिसिटिभी सेटहरू समेत बरामद गरिएको अध्यागमन विभागले जनाएको छ।