क्वालालम्पुरको तीनतारे होटलमा “सेक्स” सिन्डिकेटको पर्दाफास, १५२ विदेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाली अध्यागमन विभाग इमिग्रेशन र रोयल मलेसिया कस्टम्स डिपार्टमेन्टको संयुक्त टोलीले क्वालालम्पुरको बुकितबिन्ताङ चाङ्काट क्षेत्रमा रहेको एक तीनतारे होटलमा सञ्चालन भइरहेको ठूलो सेक्स सिन्डिकेटमाथि छापा मार्दै १५२ विदेशी नागरिकलाई पक्राउ गरेको छ।

यहीँ मे १५, २०२६ को बिहान करिब १:३० बजे सञ्चालन गरिएको विशेष अपरेशन सार्वजनिक गुनासो तथा दुई सातासम्म गरिएको गोप्य अनुसन्धानपछि गरिएको हो। अपरेशनमा अध्यागमन विभागका १३१ तथा कस्टम विभागका ४ अधिकारी सहभागी थिए।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त होटल विदेशी नागरिक, विशेषगरी चिनियाँ ग्राहकहरूको मुख्य गन्तव्य बनेको थियो। होटलभित्र रहेको विलासी मनोरञ्जन केन्द्रमार्फत विदेशी महिलालाई प्रयोग गरी पहिलोदेखि छैटौं तलासम्म अनैतिक गतिविधि सञ्चालन भइरहेको पाइएको जनाइएको छ।

कारबाहीका क्रममा २४३ जनामाथि जाँच गरिएको थियो, जसमा १९४ विदेशी र ४९ स्थानीय नागरिक रहेका थिए। जाँचपछि १५२ विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा १२९ चिनियाँ, २ ताइवानी, ५ भियतनामी, ५ म्यान्मार, ८ बंगलादेशी तथा इन्डोनेसिया, टर्की र भानुआतुका १/१ नागरिक रहेका छन्।

पक्राउ परेकाहरूको उमेर २१ देखि ३२ वर्षबीच रहेको बताइएको छ। उनीहरूलाई अध्यागमन ऐन १९५९/६३ अन्तर्गत नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि पुत्रजाया अध्यागमन डिपोमा राखिएको छ। अनुसन्धानमा उक्त मनोरञ्जन केन्द्र पछिल्लो तीन महिनादेखि सञ्चालनमा रहेको खुलेको छ। त्यहाँ स्थानीय बाउन्सर तथा सुरक्षा गार्डमार्फत कडा सुरक्षा व्यवस्था गरिएको थियो।

केवल भिभिआईपी ग्राहकलाई मात्र प्रवेश दिइने र एउटा कोठाको शुल्क आरएम ५०,००० देखि आरएम १ लाख रिंगेटसम्म लिइने गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। छापाका क्रममा केही विदेशी नागरिक मादक पदार्थ सेवन गरी ठूलो संगीतमा रमाइरहेका कारण सुरक्षाकर्मी आएको समेत थाहा नपाएको विभागले जनाएको छ।

मलेसिया अध्यागमन विभागले अवैध बसोबास, भिसा दुरुपयोग तथा बसाइ अवधि नाघ्ने विदेशीमाथि कडा कारबाही जारी रहने चेतावनी दिएको छ। साथै अवैध आप्रवासीलाई आश्रय वा रोजगारी दिने व्यक्ति तथा समूहलाई पनि कानुनी कारबाही गरिने जनाएको छ।